च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा, को को पुगे ?
खरीबोट
२०७९ चैत २ बिहीबार
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।
गएराती राउण्ड १६ का दोस्रो लिगका खेल सकिएसँगै अब च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने ८ टिमको टुंगो लागेको हो ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रिमियर लिग क्लब चेल्सी र म्यानचेस्टर सिटी पुगेका छन् भने स्पेनिस ला लिगाबाट रियल म्याड्रिड मात्र पुगेको छ ।
त्यस्तै इटालियन सिरी ए का तीन क्लब यस पटक क्वाटरफाइनलमा पुगेका छन् । जसमा इन्टर मिलान, एसी मिलान र नापोली रहेका छन् । त्यस्तै जर्मनीको लिग बुण्डेसलिगाबाट बायर्न म्युनिख र पोर्चुगलको लिगबाट बेनिफिका क्वाटरफाइनलमा पुगेका छन् ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियल म्याड्रिडसहित चेल्सी, म्यानचेस्टर सिटी, इन्टर मिलान, एसी मिलान, नापोली, बायर्न म्युनिख र बेनिफिका पुगेका छन् ।
अब क्वाटरफाइनलको ड्र शुक्रबार हुने छ भने क्वाटरफाइनलका खेलहरु अप्रिल १८ र १९ मा हुने छन् ।