• २०८१ बैशाख १५ शनिबार

प्रदेश सरकारबाट एमाले बाहिरने क्रम शुरु, कुन प्रदेशमा कस्तो छ समीकरण ?

kharibot

काठमाडौं । केन्द्रमा नयाँ गठबन्धन बनेपछि त्यसको असर प्रदेश सरकारमा पर्न शुरु भएको छ ।राष्ट्रपति निर्वाचनका क्रममा केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरणको प्रभावले प्रदेश सरकारबाट एमाले बाहिरिनेक्रम बागमती प्रदेशबाट शुरु भएको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले शुक्रबार कांग्रेससहितका केन्द्रको गठबन्धन दलहरुको सहयोगमा विश्वासको मत लिएका छन् । सरकार गठन भएको ६७ दिनमा नै मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन् । योसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । 

बहुमतका लागि ५६ मत आवश्यक पर्नेमा मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो । जुन सदनमा उपस्थित सदस्य संख्याको बहुमत हो । उनको विपक्षमा १७ सांसद रहेका थिए भने ७ जना तटस्थ रहेका थिए ।

जम्कट्टेललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली दलले मत दिएका थिए । प्रदेशसभामा कांग्रेस ३७, माओवादी केन्द्र २१, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली दलका २ सांसद रहेका छन् ।

बागमती प्रदेशमा एमालेको २७, राप्रपा १३ र नेमकिपाका ३ सांसद रहेका छन् । 

त्यस्तै एमाले नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार पनि अल्पमतमा परेको छ । गण्डकी सरकारको सहयोगी दल माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ । यससँगै खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

६० सदस्यीय गण्डकीमा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २, नेपाल समाजवादी पार्टी, एकीकृत समाजवादीका १-१ सांसद रहेका छन् । यस अघि एमाले, माओवादी केन्द्र र राप्रपाका गरि ३१ सांसदको सामान्य बहुमतमा सरकार बनाएका अधिकारी अब माओवादी बाहिरिएसँगै अल्पमतमा परेका छन् ।

अन्य प्रदेशमा कस्तो छ समीकरण ?

सबै भन्दा पहिला प्रदेश १ को कुरा गरौँ । ९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेको ४० सिट रहेको छ भने नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४, जसपाको एक सिट रहेको छ । यस प्रदेशमा बहुमतको लागि ४७ सिट आवश्यक पर्दछ ।

प्रदेश १ मा एमालेका हिक्मत कुमार कार्कीको नेतृत्वमा रहेको सरकार रहेको छ । अब गठबन्धन परिवर्तन भएपछि अहिले सरकारलाई समर्थन गरेका माओवादी केन्द्र, जसपाले समर्थन फिर्ता लिदा सरकार अल्पमतमा पर्ने देखिन्छ ।

त्यस्तै नयाँ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बहुमतका लागि आवश्यक ४७ मत पुग्छ तर यसका लागि  माओवादी केन्द्रका बाबुराम गौतम सभामुख भएकाले उनको मत लिएर सरकार बनाउनुपर्ने अवस्था देखिन्छ । त्यसैले नयाँ गठबन्धनलाई प्रदेश १ को सरकार परिवर्तन गर्न मिहिनेत गर्नुपर्ने देखिन्छ ।

त्यस्तै अब मधेश प्रदेशको कुरा गरौँ । १०७ सदस्यीय मधेश प्रदेशमा बहुमतको लागि ५४ सांसद आवश्यक पर्दछ । यस प्रदेशमा नयाँ समीकरणमा रहेको जसपाकै नेतृत्वमा सरकार रहेकाले सरकार परिवर्तन हुने सम्भावना देखिदैन । तर सरकारमा रहेको एमाले बाहिरिए र त्यस ठाउमा कांग्रेसको इन्ट्री हुनसक्ने देखिन्छ । मधेश प्रदेशमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका ७, स्वतन्त्र ६, राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका एक एक सांसद छन् ।

त्यसैगरी  केन्द्रीय राजनीतिको समीकरण परिवर्तनपछि लुम्बिनी प्रदेशमा एमालेका लिला गिरी नेतृत्वको सरकारपनि असुरक्षित देखिएको छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ९, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४-४, जसपा, लोसपा, जनमत पार्टी र स्वतन्त्रक ३-३ तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ सांसद छन् । केन्द्रको आठ दलिए गठबन्धन लुम्बिनीमा पनि एक ठाउमा आएमा बहुमत ५१ सांसद हुने हुनाले एमाले नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ । लुम्बिनीमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जसपा र लोसपाले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी गरिरहेका छन् । 

त्यस्तै कर्णाली प्रदेशमा हाल माओवादी केन्द्रका राजकुमार शर्मा नेतृत्वको सरकार छ । सरकारबाट एमाले र अन्य दल बाहिरिएको अवस्थामा पनि सत्तामा रहिरहन मुख्यमन्त्री राजकुमार शर्मालाई कांग्रेसले साथ दिए पर्याप्त हुने देखिन्छ । ४० सदस्यीय कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका १-१ सांसद रहेका छन् ।

त्यस्तै सुदुरपश्चिममा भने कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिइसकेका छन् । विश्वासको मत लिन नसकेपछि एक महिनामै एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेपछि ठूलो दलको हैसियतले शाह सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए ।

५३ सदस्यीय सुदुरपश्चिममा नयाँ समिकरण पश्चात स्पष्ट बहुमत रहेको छ । यस प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १-१ रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै