• २०८१ जेठ ९ बुधबार

सेनाको पदयात्रा विजयोत्सवमा परिणत

kharibot


लुम्बिनी । नेपाली सेनाले राष्ट्रिय झन्डासहित गोरखाबाट सुरु गएको पदयात्रा आज बुटवलको जितगढी आएर समापन भएको छ । गत चैत २८ गते गोरखाको राज्य एकीकरण मार्ग हुँदै नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजले विजयप्राप्त गरेको बुटवल जितगढीमा विजयोत्सव मनाउन आज वैशाख ७ गते बुटवलको जितगढी आइपुगेको हो ।

बुटवल उपमहानगरपालिकाले वैशाख ७ गते आजकै दिनलाई विजयोत्सवका रूपमा हरेक वर्ष जितगढीमा विजयी उत्सव मनाउँदै आएको छ ।

नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोलीले गोरखाबाट पदयात्रा सुरु गरेको थियो । नेपालको राष्ट्रिय झन्डाको साथमा पाँच प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दबहादुर, सबुज, पुरानो गोरख) र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डा बोकेर बाजागाजासहित सेनाको टोली पदयात्रामा निस्किएको थियो ।

गोरखाबाट प्रस्थान गरेको टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झन्डा हस्तान्तरण गरेका थिए भने तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई तथा पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई झन्डा हस्तान्तरण गरेको मध्यपश्चिम प्रितना हेडक्र्वाटर बुटवलका पृतनापति यामप्रसाद ढकालले जानकारी दिए । रुपन्देहीको टोलीले जितगढी विजयोत्सवको दिन पारेर वैशाख ७ गते आज जितगढी पु¥याएपछि कर्णेल उजिर सिंहको सालिकमा माल्यार्पणपछि यात्राको समापन गरिएको हो ।

पाल्पाको नुवाकोटबाट आएको टोलीलाई बुटवल उपमहानगरपालिका–२ स्थित सिद्धिविनायक गणेश मन्दिर परिसरमा पृतनापति यमप्रसाद ढकाल र बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेसहितको टोलीले स्वागत गरेको थियो । सो स्थानबाट विभिन्न झाँकी र बाजागाजासहित जितगढी किल्लामा आएर पदयात्राको समापन गरिएको थियो ।

एकीकरण मार्गसहित ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरणको अभियानको सन्देशलाई भावी पुस्तामा हस्तान्तरण गर्ने र राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले सरोकारवाला, स्थानीय निकायको सहभागितामा पदयात्रा कार्यक्रम तय गरिएको पृतनापति ढकालले बताए । 

गोरखादेखि जितगढी पुग्ने ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय एकताको जगेर्ना, पर्यटन प्रवद्र्धन तथा सैनिक–नागरिक सम्बन्ध थप प्रगाढ बनाउँदै जाने र नेपालका ऐतिहासिक धरोहर गढी, किल्ला सबैको अवलोकन गर्ने गरी कार्यक्रम आयोजना गरिएको पृतनापति ढकालले बताए । 

नेपाली सेनाका अनुसार यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी छन् । सो टोलीले गोरखादेखि जितगढीसम्म करिब दुई सय सात किलोमिटर दूरीको पदयात्रा पार गरेको छ ।

नेपाल–अङ्ग्रेजका बीच २१ पुस १८७१ देखि १८७२ सम्म युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन । कुमाउ–गडवाल (नाहान), मकवानपुरगढी, कोसी–टिस्टा र बुटवल जितगढीमा अङ्ग्रेज फौजसँग लडाइँ भयो । तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो । 
जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अङ्ग्रेजले सेना पठाएको थियो । 

पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अङ्ग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अङ्ग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अङ्ग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो ।

जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अङ्ग्रेजहरूमाथि आक्रमण गरे । यो लडाइँमा पनि नेपाली सेनाले प्रतिकार गरी अङ्ग्रेजहरूलाई पराजित गरे । अङ्ग्रेजतर्फ ठूलो क्षति भयो ।

पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अङ्ग्रेज फौजमाथि ७ वैशाख १८७२ मा  विजय हासिल ग¥यो । युद्धमा विजय हासिल गरेपछि उजिरसिंहले पाल्पामा विजयोत्सव मनाएका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै