• २०८१ जेठ ५ शनिबार

मेचीपारी जग्गा नेपालको, खेतीपाती भारतीयको

kharibot

झापा । हरेक बिहान घाम नउदाउँदै एक हुल मानिस भारतबाट सीमा छिचोलेर नेपाली भू–भागतिर पस्छन् । दशगजा जोडिएको नेपाली खेतमा कोही हलो जोत्छन्, कोही झार उखेल्छन् । खाजा र भात नेपालतिरै खान्छन् । बेलुकी घाम अस्ताउनुअघि मेची नदीमा नुहाएर उनीहरू भारततिरै बाटो लाग्छन् ।

यो दृश्य मेचीपारिको नेपाल भनेर चिनिएको मेचीनगर–१५ ग्वालाबस्तीको हो । बस्तीको पूर्वबाट मेची नदी बग्ने भएका कारण हजारौँ बिघा जग्गा रहेको यो नेपाली भू–भाग टापुजस्तो अवस्थामा मेचीपारि छ । यहाँ नेपाली खेतमा भारतीय नागरिक आएर वर्षौँदेखि निर्वाध खेतीपाती गर्दै आएका छन् ।

भारतको पश्चिम बङ्गाल प्रान्तको चुन्नीलाल जोत निवासी ३१ वर्षीय वासुदेव मुर्मूले विगत लामो समयदेखि नेपाली भूमिमा तरकारी खेती गरिरहेको बताए । उनले तीन बिघा जग्गामा यसपालि पर्वल, करेला र लौका खेती गरिरहेका छन् ।

हरेक दिन कामदार लिएर उहाँ भारतबाट नेपालतिर आउनुहुन्छ । वास्तविक जग्गाधनीको नाम र ठेगाना पनि उहाँलाई थाहा छैन । तर धुलाबारीतिरका एक व्यक्तिले सो जग्गाको वार्षिक रु १० हजार भाडा उठाउने गरेको उनले बताए । “यसपालि पर्वलखेती राम्रो फस्टाउला भन्ने आशा छ”, तरकारीका बिरुवा गोडमेल गर्दै मुर्मूले सुनाए, “आकाशे पानी पनि राम्रै परिरहेको छ । बजारभाउ बढ्यो भने निकै नाफा हुन्छ होला ।”

मेचीपारि मेचीनगर–१५ मा ग्वालाबस्ती र सिसौडाँगी गरी दुई नेपाली बस्ती छन् । एक दशकमा लगभग आधा बस्ती बसाइँ हिँडेपछि खेतमा भारतीयहरू आउन थालेको स्थानीयवासी बताउँछन् । नेपालतिर आएर भारतीयले खेतीपाती गर्ने क्रम बर्सेनि बढ्दै गएको छ ।

विसं २०१८ देखि ग्वालाबस्तीमा बसोबास गर्दै आएका ८२ वर्षीय राजेन्द्र यादवले बस्तीमा विकासे पूर्वाधार केही नभएका कारण बसाइँ हिँड्ने क्रम बर्सेनि बढ्दै गएको बताउनुभयो । बसाइँ हिँड्ने बढेपछि बस्तीका कतिपय खेत बाँझै रहने गरेका छन् । त्यही भएर सीमापारिका मान्छेहरूले नेपाली खाली भू–भागमा आँखा लगाउन थालेको स्थानीयवासी बताउँछन् ।

बसाइँ सरेर मेचीवारि आएकाहरू खेतीका लागि मेची नदी तरेर जान रुचि राख्दैनन् । बरु भाडामा खेती गर्न आउने भारतीयलाई नै जग्गा दिने गरेको यादव बताउनुहुन्छ । बलौटे तर उर्वर माटो भएकाले त्यहाँ अन्नबालीभन्दा तरकारी बाली फस्टाउने गरेको भारतीय कृषक मुर्मू बताउनुहुन्छ । सो बस्तीमा कुनै नेपाली सुरक्षा पोस्ट नभएको हुँदा भारतीयलाई आउजाउ गर्न सहज छ । पाकेको बालीसमेत उनीहरू ट्र्याक्टर र मोटरसाइकलमा लोड गरेर भारततिरै लैजान्छन् । 

“तरकारी फलेपछि भारतीय बजार बतासी र अधिकारीमा लगेर बेच्छौँ”, उनले भने, “नेपाली जग्गामा फलेको सब्जी भनेपछि भारतीय हाटबजारमा किन्नेहरू हारालुछ गर्छन् ।” कहिलेकाहीँ धेरै उत्पादन हुँदा भारतका ठूला सीमावर्ती बजार पानीटङ्की र नक्सलबारीमा लगेर सब्जी बेच्ने गरेको उनले जानकारी दिए ।

ग्वालाबस्तीमा पाँच बिघा बगरखेती भएका डुक्कु बेस्रा मेचीवारि नै बसोबास गर्छन् । मेची नदी तरेर जाने झन्झट उठाउनुको साटो उनले पनि भारतीय नागरिकलाई नै जग्गा भाडामा दिने गरेका छन् ।

उनले दिएको जग्गामा तरकारी र अनारस (भुइँकटहर) खेती हुर्किरहेको छ । महँगो मूल्यमा बिक्री हुने र बिक्रीका लागि बजारको समस्या नरहेकाले अनारस खेतीमा भारतीय नागरिकको आकर्षण बढेको पाइएको छ । ती जग्गामा सिँचाइका लागि इनार खनिएका छन् । इनारको पानीलाई सानो वाटरपम्प मेसिनको सहायताले तानेर खेत भिजाउने गरिएको छ । भारतीयहरूले उतैबाट रासायनिक मल ल्याएर प्रयोग गर्दै आएका छन् ।

मेचीपारिका ती बस्तीहरू तरकारी खेतीका लागि वर्षौँदेखि प्रसिद्ध छन् । यहाँको बगरखेतीमा फल्ने खरबुजा, काँक्रा, लौका, फर्सीजस्ता तरकारीले नेपालको भद्रपुर, काँकरभिट्टा, धुलाबारी र बिर्तामोडसम्म बजार पाउँथ्यो । तर एक दशकयता नेपालीहरूले खेतीपाती घटाउँदै लगेका कारण भारतीय नागरिकको हालीमुहाली बढ्दै गएको छ ।
नेपाली सुरक्षा निकायको कुनै चौकी नभएको ग्लालाबस्ती र सिसौडाँगीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा हेर्ने बिओपी ज्यामिरगढीको गस्तीटोली कहिलेकाहीँ पुग्ने गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै