• २०८१ बैशाख ८ शनिबार

नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपति वाइडेनको सम्मान

kharibot

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्तरुपमा सञ्चालनमा ल्याएको साइनसिक्स कम्पनीलाई राष्ट्रपति वाइडेनले सम्मान गरेका हुन् । साइनसिक्सलाई अमेरिकाको ‘स्मल विजनेश एड्मिनिस्ट्रेशन’ले ‘एक्सपोर्टर अफ दि इयर २०२३’ अवार्डबाट सम्मानित गरेको थियो ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति वाइडेनले सो अवार्ड प्रदान गरेका छन् । सन् १९८५ मा स्थापना भएको उक्त कम्पनीको स्वामित्व भण्डारी र पौडेल समूहले सन् २०२१ मा ग्रहण गरेको थियो । हाल उक्त कम्पनीमा २६ जना कर्मचारी कार्यरत छन् । यो अवार्ड नेपाली मूलका अमेरिकीलाई पहिलो पटक प्रदान गरिएको हो । 

अमेरिकामा साना तथा मझौला उद्योग तथा व्यवसायका रुपमा सञ्चालनमा आएका करिब तीन करोड ३१ लाख ८५ हजार कम्पनी रहेको तथ्याङ्क छ ।

यस्ता साना व्यवसायीले छ करोड १७ लाख जनालाई रोजगारी दिएका छन् । कम्पनीको पुँजी र रोजगारीका आधारमा साना तथा मझौला उद्योगका रुपमा वर्गीकरण गर्ने गरिन्छ ।

अमेरिकाको मिनासोटा राज्यमा कारखाना र साउथ क्यारोलिनामा रहेको प्रशासनिक भवनबाट सञ्चालित हुँदै आएको उक्त कम्पनीको अध्यक्ष डा भण्डारी छन् भने श्रद्धाले ‘एडभाइजर टु दि प्रेसिन्डेन्ट’ र ‘मेन्टर’ को जिम्मेवारी सम्हाल्छन्  ।

साउथ डकोटा स्टेट् युनिभर्सिटीबाट विद्यावारिधि गरेका भण्डारीले हार्डवर्ड स्कूल अफ पब्लिक हेल्थमा अनुसन्धान सहयोगीका रुपमा एक वर्ष कामसमेत गरेका थिए ।

अवार्ड प्राप्त गरेपछि भण्डारी र पौडेलले ह्वाइटहाउसले व्यवसायीका रुपमा गरेको सम्मानबाट पहिलो नेपाली अमेरिकी बन्न पाउँदा आफ्नो कामले सफलता चुमेको टिप्पणी गरे ।

अमेरिकी राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारीसको उपस्थितिमा सो समूह सम्मानित भएको थियो ।

“यस्तो अवार्ड प्राप्त गर्नु मेरा लागि गौरवको क्षण हो, यो मेरो र श्रद्धाका लागि जीवनकै महत्वपूर्ण समय हो”, पौडेलले भने । उनले भने, “भेटका क्रममा राष्ट्रपति वाइडेनसँग केही संवाद पनि भयो ।

राष्ट्रपति वाइडेनसँग मैले म नेपालबाट आएको एक आप्रवासी हुँ र मैले अमेरिकी सपनालाई पछ्याउँदै आएको छु भनेँ, राष्ट्रपति वाइडेनले नेपालका बारेमा जान्दछु”, भने । राष्ट्रपति वाइडेनले आप्रवासीले अमेरिकी भूमिमा रोजगारी सिर्जना गर्नुका साथै व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका पनि उनले जानकारी दिए ।

त्यस अवसरमा उपराष्ट्रपति कमला ह्यारीसले पनि आफूहरुलाई हौसला प्रदान गर्नुभएको जानकारी दिँदै आप्रवासीको सफलताको कथाले आपूmलाई खुसी बनाएको बताएका भण्डारीले बताए । 

कास्की जिल्लाको लामाचौरमा जन्मिएका भण्डारी सन् २००४ मा र श्रद्धा सन् २००५ मा विद्यार्थी भिसामा अमेरिका आएका हुन् ।

अठार वर्ष अमेरिकामा बसेर प्रविधिमा आधारित उत्पादन र वितरणसँग जोडिएर काम गर्दा आफूहरुले यो सफलता हासिल गरेको उनि हरुको भनाइ छ । 

यो नेपाली मूलकालाई मात्र नभएर सम्पूर्ण आप्रवासीका लागि पनि एउटा प्रेरणादायी क्षण भएको उनिहरुको भनाइ छ ।

भावि पिँढीका लागि पनि मार्गनिर्देशक बन्न सकोस् भनेर आफूले हासिल गरेको ज्ञान, अनुभव र दक्षता विस्तार गर्ने पक्षमा आफूहरु रहेको उनिहरुले बताए । 

यो कम्पनीले औषधिको गुणस्तरमा परिमाणको मात्रा जाँच्नका लागि आवश्यकपर्ने उपकरणको मर्मतसम्भार गर्ने पार्टपुर्जा उत्पादन गर्ने गर्दछ । उक्त कम्पनीले ती पार्टपुर्जा अमेरिका र विश्वका एक सय देशमा निर्यात गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै