• २०८१ बैशाख १४ शुक्रबार

आइपिएलमा पुराना चार खेलाडीको शानदार कमब्याक

kharibot

काठमाडौँ । आईपीएल २०२३ को उपाधि चेन्नई सुपर किंग्सले जित्यो । फाइनलमा गुजरात टाइटन्सलाई पराजित गर्दै टोलीले पाँचौं पटक उपाधि जितेको हो । यो सिजनमा शुभमन गिल, यशस्वी जैसवाल र तिलक वर्मा जस्ता युवाहरूले सबैभन्दा ठूलो फ्रान्चाइजी स्टेजमा आफ्नो नाम कमाएको देखे । अर्कोतर्फ, पियुष चावला, इशान्त शर्मा, आजिख्य रहाने र मोहित शर्मा जस्ता अनुभवी खेलाडीहरूले प्रतियोगितामा पुनरागमन गरे र आफ्नो टोलीका लागि म्याच विनर साबित भए ।

मुम्बई इण्डियन्सका पियुष चावला सर्वाधिक विकेट लिने बलर बने । जबकि भारतका पूर्व टेस्ट कप्तान अजिंक्य रहाणेले मुम्बई इन्डियन्स विरुद्ध चेन्नईको दोस्रो द्रुत अर्धशतक प्रहार गरे र मोहित शर्मा च्याम्पियन गुजरातको नयाँ डेथ ओभर स्पेशलिस्ट बने ।

पियुष चावला

मुम्बई इन्डियन्सका लेग स्पिनर पियुष चावलाले यस सिजनको आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । चावलाले सन् २००८ मा पञ्जाबबाट आईपीएल डेब्यू गरेका थिए । पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्सबाट खेलेपछि चावलाको करियरको ग्राफ तल झरेको थियो । चावलालाई २०२१ मा चेन्नई सुपर किंग्सले किनेको थियो, तर उनलाई एक खेल मात्र खेले र बाँकी खेलहरूमा बेन्चमा राखेको थियो । चावला २०२२ को अक्सनमा भने बिक्री भएका थिएनन् ।

त्यसपछि सन् २०२३ को मिनी अक्सनमा मुम्बई इन्डियन्सले उनलाई विश्वास देखाउँदै ५० लाखमा किनेको थियो । मुम्बईले गरेको विश्वासलाई सहि साबित गर्दै चावलाले यस सिजनमा मुम्बईका उत्कृष्ट बलर साबित भए । उनले यस सिजनमा २२ विकेट लिए र मुम्बईको प्लेअफसम्मको यात्रामा महत्वपूर्ण भूमिका खेले । यस सिजनको प्रदर्शनपछि ३४ बर्षिय चावला भारतीय टिममा कमब्याक नगरेपनि मुम्बईका लागि अर्को सिजन भने देखिने सम्भावना रहेको छ ।

मोहित शर्मा

यसअघि चेन्नई सुपर किंग्सबाट पर्पल क्याप जितेका फास्ट बलर मोहित शर्मा आइपिएलको बीचमा गायब भएका थिए । २०१५ मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेपछि, उनले भारतका लागि ८ टी-२० र र २६ एकदिवसिय खेल खेले । उनलाई २०१५ को एकदिवसीय विश्वकपको टोलीमा समेत समावेश गरिएको थियो । तर २०१६ को सिजनमा उनलाई चेन्नईले समावेश गरेन ।

चेन्नईबाट बाहिरिएपछि उनले घरेलु क्रिकेट खेल्न पनि छोडेका थिए । शर्माले अन्तिम प्रथम श्रेणी खेल २०१८ मा खेलेका थिए । तर २०१९ मा चेन्नईले मोहितलाई फेरि किन्यो, तर पूरै सिजनमा मात्र एक खेल खेलायो । त्यसपछि उनी दिल्ली क्यापिटल्समा आबद्ध भए तर एक खेलमा मौका पाएनन् ।

लामो प्रतिक्षापछि गुजरात टाइटन्सले गत बर्ष मिनी अक्सनमा मोहितमाथि विश्वास देखाउँदै ५० लाखमा किन्यो । मुख्य प्रशिक्षक आशिष नेहरा र सपोर्ट स्टाफले मोहितको बलिङमा काम गरे ।

सुरुवाती खेलमा मौका नपाएपछि मोहितलाई टोलीले तेस्रो खेल दिएको थियो । उनले किफायती बलिङ गरे र त्यसपछि टोलीको हरेक खेल खेले । ६ करोडको मूल्यवान शिवम मावीले पनि आफ्नो उपस्थितिका कारण एक खेल खेल्ने मौका पाएनन् । मोहित टोलीको डेथ ओभर स्पेशलिस्ट बने र १४ खेलमा २७ विकेट लिएर सिजन समाप्त गरे । उनी यस सिजनमा सबैभन्दा धेरै विकेट लिने दोस्रो बलर बने ।

आइपिएलको प्रदर्शनपछि ३४ वर्षीय मोहित शर्मालाई यो वर्ष भारतमा हुने एकदिवसीय विश्वकप टोलीमा छनोट हुने सम्भावना देखिएको छ । मोहितले घरेलु क्रिकेटमा पनि कमब्याक गरेका छन्, यदि उनको फर्म यथावत राख्न सके भने उनी २०२४ को टी-२० विश्वकप टिमको पनि हिस्सा बन्न सक्ने चर्चा रहेको छ ।

इशान्त शर्मा

इशान्त शर्मा, भारतका सफल बलरहरू मध्ये एक हुन् । तर उनको आईपीएल क्यारियर भने त्यति राम्रो मानिदैन । इशान्तले आफ्नो अन्तिम सिजन २०२१ मा दिल्ली क्यापिटल्सबाट मात्र खेलेका थिए । त्यसपछि उनले मौका पाएनन् । तर यो सिजन फेरि दिल्लीले उनीमाथि विश्वास देखाउँदै उनलाई ५० लाखको आधार मूल्यमा किनेको थियो ।
मुस्ताफिजुर रहमान र मुकेश कुमार जस्ता खेलाडीहरूलाई पछि पार्दै इशान्त प्रतियोगिताको दोस्रो हाफमा दिल्ली क्यापिटल्सको मुख्य बलर बने । यो सिजन इशान्तले ८ खेलमा १० विकेट लिएका थिए ।

इशान्त शर्मा सधैं भारतको लागि टेस्ट क्रिकेटमा सफल मानिन्छन् । विश्व टेस्ट च्याम्पियनसिपपछि इशान्त वेस्ट इन्डिज भ्रमणको लागि टोलीमा फर्किन सक्नेछन् । तर, सीमित ओभरको ढाँचामा उनको पुनरागमन कठिन देखिन्छ ।

आजिख्य रहाणे

आजिख्य रहाणेले यो सिजनको आइपिएलमा आफ्नो ब्याटिङले सबैलाई चकित पारेका छन् । रहाणे लामो समयदेखि भारतको सेतो बल टिममा छनोट भएका थिएनन् । २०१८ मा रहाणेले अन्तिम पटक दक्षिण अफ्रिका विरुद्ध दक्षिण अफ्रिकामा एकदिवसीय खेल खेलेका थिए । उनले भारतका लागि अधिकांश टेस्ट क्रिकेट खेलेका छन् ।

आइपिएलमा पनि उनको सुस्त रन बनाउने शैलीका कारण टिमले उनीमाथि विश्वास देखाउन सकेका थिएनन् । दिल्ली क्यापिटल्सले राजस्थान रोयल्ससँग केही उत्कृष्ट सिजनपछि २०२० मा उनलाई आफ्नो टोलीमा समावेश गरेको थिय । तर कम स्ट्राइक रेटमा ब्याटिङ गरेका कारण उनले २०२० मा ९ र २०२१ मा २ खेल मात्र खेलेका थिए ।

दिल्लीले रहाणेलाई रिलिज गरेपछि र २०२२ मा कोलकोता नाइट राइडर्सले उनलाई किन्यो । रहाणेका लागि यो वर्ष झनै खराब रह्यो । उनी भारतको टेस्ट टोलीबाट बाहिरिएका थिए र उनले आईपीएलमा कोलकाताका लागि १०३ को स्ट्राइक रेटमा ७ खेलमा जम्मा १३३ रन बनाएका थिए । यसपछि रहाणेको आईपीएल र भारतीय टिममा फर्कन असम्भव जस्तै देखिएको थियो ।

तर २०२३ मा चेन्नई सुपर किंग्सले उनीमाथि विश्वास देखायो र उनलाई ५० लाखको आधार मूल्यमा किन्यो । रहाणे यस सिजन अर्कै रंगमा देखिए । मुम्बईविरुद्धको पहिलो खेलमा उनले १९ बलमा अर्धशतक हानेर टोलीलाई जितको नजिक ल्याएका थिए । यो चेन्नईका लागि दोस्रो छिटो अर्धशतकको कीर्तिमान थियो ।

रहाणेले यो सिजन १७२.४९ को स्ट्राइक रेटमा ३०० भन्दा बढी रन बनाए र प्रतियोगिताभर च्याम्पियन चेन्नईका लागि महत्वपूर्ण खेलाडी साबित भए । यो प्रदर्शनपछि उनलाई विश्व टेस्ट च्याम्पियनसिपको टीम इन्डियामा पनि बोलाइएको थियो । उनले श्रेयस अय्यरलाई प्रतिस्थापन गरेका छन् ।

रहाणेले यो सिजन टी–२० ब्याट्सम्यानको रुपमा आफूलाई स्थापित गरेका छन् । उनलाई भविष्यमा आईपीएलमा निश्चित रुपमा देख्न सकिने छ भने भारतको टेस्ट टोलीमा फर्किएपछि राम्रो प्रदर्शन गरे भने उनी लामो समयसम्म टिममा रहन सक्ने देखिन्छ । रहाणेले २०१५ को एकदिवसीय विश्वकप पनि खेलिसकेका छन् । हालको फर्म र श्रेयस अय्यरको चोटका कारण उनी पनि नम्बर ४ मा ब्याटिङ गर्न भारतीय टिममा छनोट हुन सक्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै