• २०८१ बैशाख १५ शनिबार

सुनकोशी जिप दुर्घटना: बेपत्ताको खोजी जारी

kharibot

सिन्धुली । शुक्रबार सुनकोशी नदीमा दुर्घटना भएको जिप र त्यसमा सवार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का अधिकारीहरूको खोजी कार्य आज पनि जारी रहेको छ ।

शनिबार बिहानैदेखि खोजी जारी भए पनि हालसम्म नदीमा खसेको जीप र त्यसमा सवार अहिले सम्म भेटिएको छैन । यद्यपि दुर्घटनास्थलबाट १५ मिटरजति तल सुनकोशी नदीमा खोजीको क्रममा पानीमुनि फलामको हुक अड्किएको हुनाले जिपमा अड्किएको आशंका गरिएको छ ।

शुक्रबार दिनभर खोजी गर्दा नभेटिएपछि शनिबार पनि दिनभर खोजी भइरहेको छ । खोताखोरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयहरूले खोजी गरिरहे पनि भेटिएको छैन । नदीमा पानीको बहाब बढी भएकाले पानीलाई स्काभेटरको सहायताले अन्यत्र मोडेर खोजी गर्ने तयारी भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको उक्त जिपमा सीटीईभीटी प्रशासन शाखाका निर्देशक कृष्ण केसी, योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेल र विद्युत् प्राविधिक भानु पौडेल रहेका थिए । उनीहरू सबै बेपत्ता छन् । चालक कृष्ण चौधरी भने पौडिएर बाहिर निस्किएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै