• २०८१ बैशाख १४ शुक्रबार

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

kharibot

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ ।

प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ दीर्घकालीन सोच अनुरुप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादनमा लक्षित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।  

प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले वार्षिक १० हजारलाई रोजगारी दिने उद्देश्य अनुरुप कर्णाली समृद्धिका लागि अभियान सञ्चालन गरिने बताए ।

विगतदेखि कार्यान्वयनमा रहेका मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिइएको छ भने प्रदेशलाई आर्गानिक प्रदेशको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

सुर्खेत विमानस्थल पुनःविस्तार

कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको योजना पुनःल्याएको छ । यसअघि पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल विस्तारको विषयलाई हटाएका थिए ।

त्यसको सट्टा भेरीगङ्गामा नयाँ विमानस्थल निर्माण गर्ने तयारी गरिएको थियो । निजी क्षेत्रले नयाँ विमानस्थल निर्माण गर्न समय लाग्ने भएको भन्दै वर्तमान विमानस्थललाई नै विस्तार गरिनुपर्ने बताउँदै आएका थिए । प्रदेश प्रमुख परियारले विमानस्थल विस्तारका लागि सङ्घीय सरकारसँग सहकार्य गरिने बताए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मङ्गलगढी चोकमा आकाशे पुलको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

साथै वीरेन्द्रनगरका सडकमा ट्राफिक बत्तीको व्यवस्थापन गर्नुका साथै प्रदेश सरकार तथा स्थानीय तहको सहकार्यमा आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै