• २०८१ जेठ ६ आइतबार

बढ्दै व्यावसायिक तरकारीखेती

kharibot

ललितपुर । एक दशक पहिलेसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लामा सीमित व्यावसायिक तरकारीखेती पछिल्ला वर्षमा धेरै जिल्लामा फैलन थालेको छ । 
व्यावसायिक तरकारी खेतीमा धेरै जिल्लाका धेरै किसान आबद्ध हुँदा देश तरकारीमा आत्मनिर्भर हुने बाटोमा लागेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको छ । 

शहरीकरण बढिरहेका जिल्लामा तरकारीखेती बढिरहेको निर्देशनालयमा कार्यरत वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए । एक दशक पहिलेसम्म काभ्रे, धादिङ, चितवन जिल्लामा तरकारीखेती सीमित थियो । शहरीकरण भएका जिल्लामा बजार पाइने हुनाले तरकारीखेती फैलिरहेको छ । उनले भने ,यातायातको सुविधा भएको र बजार नजिक भएका ठाउँमा तरकारीखेती गर्दा किसानले बढी फाइदा लिन सक्छन् ।” 

नेपालका झण्डै ५५ जिल्लामा तरकारीखेतीको सम्भावना रहेको उनको भनाइ थियो । पहिले थोरै सङ्ख्यामा तरकारीखेती गर्ने किसान थिए तर उनीहरुले पर्याप्त फाइदा लिन सकेका थिएनन् । तरकारीखेतीका युवा र शिक्षित वर्गको आकर्षण यो एक दशकमा बढेको छ । वरिष्ठ तरकारी विकास अधिकृत जोशीले भने , “अध्ययन गरेर यस क्षेत्रमा आएका र अहिले पनि प्रविधिको प्रयोग गर्ने र बजारको माग अनुसार फलाउने किसानले बढी फाइदा लिएका छन् ।” कृषिका विभिन्न क्षेत्रमध्ये तरकारीखेतीले छाटो समयमा फड्को मारेको उनले बताए । अहिले इलाम, धनकुटा, दोलखा, मकवानपुर, सर्लाही, रुपन्देही, कैलाली, बर्दिया, दाङ लगायतका जिल्लामा व्यावसायिक तरकारीखेती फैलिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै