• २०८१ बैशाख ३१ सोमबार

जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सार्वजनिक

kharibot

काठमाडौँ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक औपचारिक कार्यक्रमबीच सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो ।

सन् २०२२ को नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) नतिजाले समग्र नेपालीको स्वास्थ्यमा सुधार भएको देखिएको छ । सर्वेक्षणको नतिजाले नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखाएको छ । नेपालमा सन् १९९६ पछि गरिएको यो छैठौँ जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण हो ।

सर्वेक्षणअनुसार नेपाली महिलाले लिने मातृ स्वास्थ्य सेवा पछिल्ला वर्षमा बढ्दोक्रममा देखिएको छ । हाल ९४ प्रतिशत गर्भवती महिलाले दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती सेवा पाइरहेको देखिएको छ । सर्वेक्षणअनुसार नेपालमा आधाभन्दा बढी ५७ प्रतिशत विवाहित महिलाले परिवार नियोजनको साधन वा विधि प्रयोग गर्छन् । जसमध्ये ४३ प्रतिशतले आधुनिक परिवार नियोजनको साधन वा विधि प्रयोग गर्छन् भने १५ प्रतिशतले परम्परागत विधि प्रयोग गर्ने गरेका छन् । महिला बन्ध्याकरण, डिपो र इम्प्लान्टजस्ता आधुनिक परिवार नियोजनका साधन वा विधि नेपालमा सबैभन्दा बढी प्रयोग भएको पाइएको छ ।

नेपालले कूल प्रजनन् दरलाई दुई दशमलव एकमा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको यो अध्ययनबाट देखिएको छ । विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको देखिन्छ । सन् १९९६ मा एक जना महिलाले औसत पाँच बच्चा जन्माउने गरेकोमा सन् २०२२ मा औसत दुई दशमलव एक बच्चा मात्र जन्माउने गरेको देखिएको छ ।

त्यसैगरी, पाँच वर्ष मुनिको बाल मृत्युदर उल्लेखनीयरूपमा घटेको देखिन्छ । सन् १९९६ मा पाँच वर्ष मुनिका प्रति एक हजार जीवित जन्ममा एक सय ९८ को मृत्यु हुने गर्दथ्यो । सो मृत्युदर तुलनात्मकरूपमा घटेर हाल प्रति एक हजार जीवित जन्ममा ३३ को मृत्यु हुने गर्दछ ।

दीर्घकालीन कुपोषणको एउटा सङ्केत पुड्कोपन वा उमेरअनुसार उचाइ कम हुनु हो । यो सर्वेक्षणअनुसार सन् १९९६ मा ५७ प्रतिशत रहेको पुड्कोपन घटेर सन् २०२२ मा २५ प्रतिशतमा झरेको छ ।

यो सर्वेक्षणले स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भएको देखाए पनि चुनौती अझै बाँकि रहेकोसमेत उल्लेख गरेको छ । नेपालमा छ महिनाभन्दा कम उमेरका शिशुलाई पूर्णरुपमा स्तनपान गराउने प्रवृत्तिमा समयसँगै उतारचढाव भएको देखिन्छ । यस्तो तथ्याङ्क सन् १९९६ मा ७५ प्रतिशत थियो भने सन् २०२२ मा ५६ प्रतिशतमा झरेको छ । विश्व पोषण निर्देशिकाले शिशुलाई बाल मृत्यु तथा अन्य रोगहरुबाट बचाउनको लागि जन्मेको पहिलो छ महिनासम्म पूर्णरुपमा स्तनपान मात्र गराउन सिफारिस गर्दछ । साथै, नवजात शिशु मृत्यु दर पछिल्लो दशकमा प्रतिएक हजार जीवित जन्ममा २१ जना शिशुको मृत्यु हुने गरेको देखिएको छ । किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको यो अध्ययनबाट देखिन्छ । जसमा १५ देखि १९ वर्ष उमेर समुहका १४ प्रतिशत किशोरी गर्भवती हुने देखिएको छ ।

अघिल्लो सर्वेक्षणको तुलनामा यो सर्वेक्षणमा बाल्यकालको नियमित खोप कभरेज घटेको पाइएको छ । हाल ८० प्रतिशत बालबालिकाले सबै आधारभूत एन्टिजेन्स विरुद्ध खोप लगाएका छन् । जुन २०११ को सर्वेक्षणमा ८७ प्रतिशत थियो ।

यो सर्वेक्षणले कुनै पनि खोप नपाएका बालबालिकाको प्रतिशतमा पनि वृद्धि भएको देखाएको छ । अघिल्लो अर्थात् सन् २०१६ को सर्वेक्षणमा कुनै पनि खोप नपाएका बालबालिको सङ्ख्या एक प्रतिशत थियो भने अहिले चार प्रतिशत पुगेको छ ।

नेपालमा १५ वर्ष वा सोभन्दा माथिका १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषलाई उच्च रक्तचाप भएको देखिन्छ । यो सर्वेक्षणअनुसार प्रति एक लाख व्यक्तिमध्ये १४ जनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गर्दछ । जसमध्ये सबैभन्दा बढि मृत्यु वा घाइते भएका ६८ प्रतिशत सडक दुर्घटना मोटरसाइकलको कारणले हुने गर्दछ ।

यस सर्वेक्षणमा १५ देखि ४९ वर्षसम्मका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषले चिन्ता (एन्जाइटी)का लक्षण अनुभव गरेका पाइएको छ । त्यसैगरी, १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये २३ प्रतिशतले कुनै न कुनै समयमा शारीरिक हिंसाको अनुभव गरेको सर्वेक्षणमा उल्लेख छ । नेपालमा ७२ प्रतिशत विवाहित महिलाले आफ्नो स्वास्थ्यको हेरचाह सम्बन्धि निर्णय आफैँ वा संयुक्तरुपमा गर्ने गर्दछन् । त्यस्तै ६० प्रतिशत महिलाले घरायसी मुख्य सर–सामान खरिद गर्न र ६८ प्रतिशतले आफ्नो परिवार वा आफन्तलाई भेट्न आफै वा संयुक्तरुपमा निर्णय गर्दछन् ।

यो सर्वेक्षणमा सबै प्रादेशिकस्तर, शहरी तथा ग्रामीण क्षेत्र, हिमाल, पहाड र तराईका आधारमा जनसाङ्ख्यिक तथा स्वास्थ्य सूचकको अवस्था हेरिएको थियो । सर्वेक्षणका लागि १३ हजार सात सय ८६ घरधुरीमा १५ देखि ४९ वर्ष उमेर समूहका १४ हजार आठ सय ४५ जना महिला र सोही उमेर समूहका चार हजार नौ सय १३ जना पुरुषलाई अन्तरवार्तामा समावेश गरिएको थियो ।

यो सर्वेक्षण स्वास्थ्य मन्त्रालयको नेतृत्वमा न्यू एराले सम्पन्न गरेको हो । यस सर्वेक्षणलाई अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआइडी)बाट आर्थिक सहयोग प्राप्त भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै