• २०८१ जेठ ६ आइतबार

हवाई टिकटमा लाग्ने भ्याट आजदेखि कार्यान्वयन

kharibot

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै आजदेखि हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा आएको छ । सरकारको निर्णयअनुसार आन्तरिक राजस्व विभागले आजदेखि हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर लागु गरेको हो । योसँगै ट्राभल एजेन्सीहरुको वैदेशिक भ्रमण प्याकेजमा पनि ५ प्रतिशत कर लाग्ने नयाँ व्यवस्था कार्यान्वयनमा आएको छ ।

विभागले सूचना जारी गर्दै हवाई यातायात सेवामा आर्थिक वर्ष ऐन, २०८० बाट मूल्य अभिवृद्धि कर लाग्ने भएकोले कर लाग्ने भएको वा कर लाग्ने कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको मितिले ३० दिनभित्र कारोबार दर्ता गरी कर संकलन गर्नुपर्ने उल्लेख गरेको छ ।

मूल्य अभिवृद्धि करमा दर्ताको लागि हवाई सेवा यातायात प्रदायकले दरखास्त दिनु पर्नेछ भने विदेशी हवाई यातायात सेवा प्रदायकले सम्बन्धित निकायबाट जारी भएको सञ्चालन अनुमति पत्रको प्रतिलिपिसमेत बुझाउनु पर्नेछ ।

विभागकाअनुसार आन्तरिक हवाई सेवा प्रदायकले प्रदान गर्ने सेवाको हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नु पर्नेछ । अन्तर्राष्ट्रिय हवाई यातायात सेवाको हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्य स्थानसम्मको हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर लाग्नेछ । त्यस्तो अन्तर्राष्ट्रिय उडानको हवाई टिकट नेपालभित्र वा नेपाल बाहिर जँहासुकैबाट जुनसुकै माध्यम (अनलाइन माध्यमसमेत) बाट जारी वा खरिद गरे पनि हवाई यातायात सेवा प्रदायक (एयरलाइन्स कम्पनी) ले सो हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नु पर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

दुवै तर्फको हवाई टिकट जारी गर्दाको हकमा विदेशबाट नेपाल आउँदाको हवाई टिकट मूल्यमा मूल्य अभिवृद्धि कर नलाग्ने विभागले जनाएको छ । नेपालबाट प्रस्थान नहुने तर नेपालमा दर्ता भएका व्यक्तिले हवाई टिकट जारी गरेको हकमा पनि मूल्य अभिवृद्धि कर लाग्ने छैन ।

अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने व्यक्तिले विद्युतीय बीजक जारी गर्न स्वीकृति लिनु नपर्ने विभागले जनाएको छ । तर विद्युतीय बीजक जारी गर्न प्रयोग गरेको सफ्टवेयरको जानकारी सम्बन्धित कार्यालयमा भने दिनु पर्नेछ ।

हवाई टिकट बिक्रीमा संकलन गरेको करमा व्यवसायसँग सम्बन्धित वस्तु तथा सेवा खरिद गर्दा नेपालमा तिरेको कर घटाई बाँकी कर र सोको विवरण महिना समाप्त भएको पच्चीस दिनभित्र दाखिल गर्नुपर्दछ । तर वार्षिक एक करोड रुपैयाँभन्दा कमको कारोबार गर्ने व्यक्तिले चाहेमा चौमासिक रुपमा कर र सोको विवरण दाखिल गर्न सक्नेछ ।

मूल्य अभिवृद्धि कर लागू हुनुभन्दा पहिला हवाई टिकट बिक्री भएको तर मूल्य अभिवृद्धि कर लागू भए पछिको मितिमा यात्रा गर्नेको हकमा मूल्य अभिवृद्धि कर असुल नहुने विभागले जनाएको छ । तर त्यस्तो विवरण सम्बन्धित कार्यालयमा दिनु पर्नेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै