• २०८१ जेठ २ बुधबार

भारतको मणिपुरमा जातीय द्वन्दको डरलाग्दो तस्बीर: दुई महिलालाई नग्न घुमाइयो !

kharibot

काठमाडौँ । भारतको मणिपुरमा भिडले दुई महिलालाई नग्न अवस्थामा सडकमा घुमाएको भिडियोले अहिले स्तब्ध बनाएको छ । मणिपुरको राजधानी इम्फालबाट करिब ३५ किलोमिटर टाढा रहेको काङ्पोकपी जिल्लामा गत मे ४ मा यो घटना भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसको भिडियो बुधबार सामाजिक सञ्जालमा सार्बजनिक हुनासाथ भाइरल भएको थियो ।

यो भिडियो सार्बजनिक भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले १४० करोड भारतीयहरु लज्जित भएको टिप्पणी गर्दै अपराधीलाई कारवाही गर्ने बताएका छन् ।यस विषयमा भारतको सर्वोच्च अदालतले समेत सरकारलाई चेतावनी दिदै सरकारले कारवाही नगरेमा आफुले कदम चाल्ने बताएको छ ।

मणिपुर प्रहरीले अपहरण, सामूहिक बलात्कार र हत्याको मुद्दा दर्ता गरी एक अभियुक्तलाई पक्राउ गरेको बताइएको छ । मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले सबै दोषीलाई मृत्युदण्डको सजाय दिन सम्भव हुने सबै प्रयास गर्ने बताएका छन् ।

प्रधानमन्त्री मोदीले भने, ‘आज मेरो मन दुख र क्रोधले भरिएको छ । यो घटना कुनै पनि सभ्य समाजका लागि लाजमर्दो घटना हो । मणिपुरका छोरीहरूलाई के भयो त्यो कहिल्यै माफ हुन सक्दैन । यो अपमान सिंगो देशमा भइरहेको छ ।

के हो यो घटना ?

गत मे ४ को दिउँसो ३ बजे करिब ८०० देखि एक हजार मानिसहरु काङपोकपी जिल्लाको बीमा गाउँमा पुगेका थिए । उनीहरुले घरको फर्निचर, इलेक्ट्रोनिक्स, भाँडाकुँडा, लत्ताकपडा र नगद लुटेर घरमा तोडफोड, घरमा आगजनी गरेका थिए । आक्रमणकारीहरू मेइतेई युवा संगठन, मेइतेई लिपुन, काङ्गेलीपाक कान्बा लुप, अरामबाई टेङ्गोल, विश्व मेइतेइ परिषद् र अनुसूचित जनजाति माग समितिका भएको बताइएको छ ।

आक्रमणकारीको डरले धेरै मानिसहरु जङ्गलमा भागेका थिए भने  उनीहरुलाई नोङपोक सेकमाई प्रहरीले उद्धार गरेको थियो । आक्रमणकारीहरूसँग धेरै हतियारहरू पनि थिए ।  उनीहरुले ५६ वर्षीय सोइटिन्कम वैफेईको हत्या गरेका थिए । यसपछि तीन जना महिलालाई लुगा फुकाल्न बाध्य पारिएको थियो ।

आक्रमणकारीले महिलामाथि सामूहिक बलात्कार गरेका थिए । एक महिलाका भाइले आफ्नी बहिनीलाई बचाउन खोजे, तर आक्रमणकारीहरूले उनको हत्या गरे । अहिले भाइरल भएको भिडियोमा भीडले महिलालाई दुर्व्यवहार गरेको देखिन्छ । महिलाहरू रुँदै भीडसँग बिन्ती गरिरहेका छन् ।

यस विषयमा नाङ्गपोक सकमाई प्रहरी चौकीमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

मणिपुरको जनसंख्या करिब ३८ लाख छ । यहाँ तीन प्रमुख समुदायहरू छन्- मेइतेई, नागा र कुकी । मेइतेइहरू प्रायः हिन्दू हुन् । नागा र कुकीले ईसाई धर्म पछ्याउँछन् । तिनीहरूको जनसंख्या लगभग ५० प्रतिशत छ । राज्यको करिब १० प्रतिशत क्षेत्र ओगटेको इम्फाल उपत्यकामा मेइती समुदायको बाहुल्य छ । नागा-कुकीको जनसंख्या करिब ३४ प्रतिशत रहेको छ । यी मानिसहरू राज्यको लगभग ९० प्रतिशत क्षेत्रमा बसोबास गर्छन् ।

कसरी सुरु भयो विवाद ?

मेइती समुदायले आफूलाई पनि जनजातिको दर्जा दिन माग गर्दै आएका छन् । यसका लागि समुदायले मणिपुर उच्च अदालतमा निवेदन दिएका थिए । मणिपुर सन् १९४९ मा भारतमा विलय भएको समुदायको तर्क थियो । यसअघि उनीहरुलाई जनजातिको मात्रै हैसियत थियो । यसपछि, उच्च अदालतले राज्य सरकारलाई मेइतीलाई अनुसूचित जनजाति (एसटी) मा समावेश गर्न सिफारिस गर्यो ।

मेइतेई जनजातिहरू विश्वास गर्छन् कि वर्षौं पहिले उनीहरूका राजाहरूले म्यानमारबाट कुकीहरूलाई युद्ध लड्न बोलाए । त्यसपछि उनीहरु स्थायी बासिन्दा भए । यी मानिसहरूले रोजगारीका लागि जङ्गल काटेर अफिम खेती गर्न थाले । यसले मणिपुरलाई लागूऔषध तस्करीको त्रिकोण बनाइदिएको छ। यी सबै खुलेआम भइरहेका छन् । उनले नागा जनतासँग लड्न हतियार समूह बनाए ।

अन्य दुई जनजाति नागा-कुकीले मेइती समुदायलाई आरक्षण दिनको विरुद्धमा छन् । तिनीहरू भन्छन्, राज्यको ६० विधानसभा सीटहरू मध्ये ४० पहिले नै मेइतेइ बहुल इम्फाल उपत्यकामा छन् । यस्तो अवस्थामा एसटी वर्गमा मेइतेइलाई आरक्षण दिएमा उनीहरूको अधिकार घट्ने छ ।

मणिपुरका ६० विधायक मध्ये ४० जना विधायक मेइतेइ र २० जना विधायक नागा-कुकी जनजातिका छन् । हालसम्म १२ मुख्यमन्त्रीमध्ये दुई जना मात्र जनजातिबाट आएका छन् ।

अब अहिले मणिपुरमा विगत साढे दुई महिनादेखि मेइतेइ र कुकी समुदायबीच हिंसात्मक द्वन्द्वको बीचमा बुधबार मणिपुरमा कुकी समुदायका दुई महिलामाथि यौन दुर्व्यवहारको डरलाग्दो भिडियो सार्वजनिक भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै