• २०८१ बैशाख २३ आइतबार

कम हुँदै यातायात व्यवस्था कार्यालयको भीड

kharibot

काठमाडौँ । चावहिलकी सरिता रिजाल दिउसो एक बजे एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुगेकी थिइन् ।

त्यहाँ बिहानै पुगे दिनभरमा काम सकिने भए पनि ढिला पुगेकाले अर्काे दिन पनि आउनुपर्नेमा उनमा चिन्ता थियो । कार्यालय पुगेको झण्डै आधा घण्टामै चालक अनुमतिपत्र लिएर बाहिरिँदा रिजाल खुसी देखिन्थे ।

आफूले सोचभन्दा कम समयमै काम भएकाले उनमा खुसी छाएकोे हो । डेढवर्ष पहिले चालक अनुमतिपत्र नवीकरणका लागि आउँदा दिनभर लागेको थियो । तीन ठाउँमा लाम बसेर बल्ल कार्यालय समय सकिनु पहिले काम भएको रिजालले सम्झाए । सेवाग्राही जो चाँडो आयो उसले पहिले र पछि आउने सेवाग्राहीले पछि सेवा पाएका थिए। उनले भनिन्, “भीड कम भएर हो कि किन हो चाँडै लाइसेन्स लिन सकियो ।”

बाह्रै महिना र बिहानदेखि साँझैसम्म भीडभाड देखिने एकान्तकुनास्थित उक्त कार्यालयको चालक अननुमतिपत्र शाखामा विगतमा भन्दा सेवाग्राहीको भीड केही कम भएको छ ।

सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या कम हुनु, टोकन लागु हुनु, काउन्टर थप हुनु, परीक्षामा ७० प्रतिशत आउँदा पास गर्ने प्रणाली लागु हुनुलगायत कारणले भीडभाड केही व्यवस्थित भएको कार्यालयले जनाएको छ । 

पहिले एउटै काउन्टरबाट नवीकरण र नयाँ चालक अनुमतिपत्रको काम भइरहेकाले एउटा ठाउँमा भीड थुप्रिएको भए पनि अहिले त्यो व्यवस्थित गरिएको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए । नवीकरण र नयाँ चालक अनुमतिपत्रका लागि छुट्टाछुट्टै काउन्टरको व्यवस्था गरिएको छ । उनले भने, “कार्यालयलाई सेवा दिन पनि सजिलो र सेवाग्राहीलाई पनि सजिलो भएको छ ।” 

कार्यालयमा चार पाँच वर्ष पहिलेसम्म बिहान चारपाँच बजे पहिलेदेखि नै लाम हुने गरेको थियो । कार्यालयमा सेवाग्राहीको चाप व्यवस्थित गर्न कोभिडपछि कार्यालय सञ्चालन गर्दा अनलाइनबाट फारम लिन थालिएको थियो । अहिले सेवाग्राहीले फारम भरिसकेर मेडिकल जाँचका लागि मात्रै आउनु परेकाले  पनि यहाँको भीड कम भएको हो । गत वर्षसम्म पनि बिहान ६ बजेदेखि लाम हुने गरेकामा अहिले बिहान साढे नौ बजेभन्दा अघि मान्छे आउने नगरको कार्यालय प्रमुख कपालीले बताए । 

पहिलो पटक अनुमतिपत्रको फारम भरिसकेर त्यसको स्वीकृत गर्ने मान्छे मात्रै चाँडै आउने गरेको उल्लेख गर्दै उनले भने, “एक दिन स्वास्थ्य जाँच गराएर फारम बुझाएपछि अर्काे दिन लिखित र त्यो पास हुँदा ट्रायल हुने गरेको छ ।”कामाडौँ उपत्यकाका अरु यातायात कार्यालयसँगै यो कार्यालयले गत फागुनदेखि चालक अनुमतिपत्रको परीक्षामा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू गरिएकाले पास हुनेको सङ्ख्या बढेको हो ।

पासदर घट्दा त्यसले भीडभाड कम गरेको कार्यालयले जनाएको छ । विगतमा कार्यालयमा दरबन्दीअनुसार जनशक्ति नहुने समस्या थियो । अहिले दरबन्दीभन्दा बढी कार्यरत छन्  ।

विगतमा कार्यरत कर्मचारीमध्ये कतिपय काम कारबाहीमा त कतिपय निलम्बनमा पर्दा पनि यहाँ जनशक्ति कम हुने गरेको थियो । पहिले कर्मचारी सरुवा हुन नमान्ने वा सरुवा भए पनि छिटै फर्किने गरेका थिए ।

कतिपय कर्मचारी एक महिना बसेर जागिर जाने डरले गइहाल्ने गरेको त्यहाँ कार्यरत कर्मचारीको भनाइ थियो । अहिले दरबन्दीभन्दा बढी कार्यरत रहँदा काम गर्न सजिलो भएको प्रमुख कपालीले बताए । 

काठमाडौँ उपत्यका मात्रै होइन देशभरका यातायात कार्यालयमध्ये सबैभन्दा बढी सेवाग्राहीको चाप यही कार्यालयमा रहेको छ । पहिले उपत्यकामा यो मात्रै कार्यालय  थियो ।

पहिले एउटा अञ्चलबाट अर्काे अञ्चलीकरण गर्न मिल्ने व्यवस्था थियो । त्यतिबेला धेरैले यहीँ सारेका थिए । विसं. २०७६ देखि भने एउटा प्रदेशबाट अर्काे प्रदेशमा सार्न नमिल्ने भएको प्रमुख कपालीले बताए । 

सरकारको सबै क्षेत्रमा कागजरहित सरकार बनाउने अवधारणा छ । यातायात कार्यालयको भने फारम लिने र राजस्व बैंककमा जम्मा गर्ने बाहेक स्वास्थ्य जाँचलगायत कामका लागि कार्यालय आउनुपर्ने व्यवस्था छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै