• २०८१ बैशाख १७ सोमबार

करिश्माको आपत्ति- फिल्म चलिरहेको बेला कमाई सार्बजनिक गर्नु गलत भयो

kharibot

काठमाडौँ । अभिनेत्री करिश्मा मनाधरले नेपाल चलचित्र विकास बोर्डले फिल्म चलिरहेको बेला बक्स अफिस रिपोर्ट सार्बजनिक गरेकोमा आपत्ति जनाएकी छन् ।

करिश्माले सामाजिक सञ्जालमा लेख्दै फिल्म प्रदर्शन भैरहेको समयमा कमाई सार्वजनिक गर्नु ठीक नभएको बताउँदै उनले फिल्म नउत्रिएसम्म व्यापार सार्वजनिक गर्न नपाउने नियमको लागि पहल गर्नुपर्ने टिप्पणी गरेकी छन् ।

उनले भनेकी छन्- 

'सरकारी तवरले नेपाली चलचित्र क्षेत्रलाई सम्बोधन गर्ने संस्था चलचित्र विकास बोर्ड हो । विकास बोर्डद्वारा नेपाली चलचित्र सम्बन्धि सार्वजनिक हुने समाचार तथ्यमा आधारित हुनुपर्छ होला !!  जबसम्म चलचित्र , चलचित्र भवनमा चलिरहेको हुन्छ , तबसम्म दर्शक तान्ने सम्भावना रहिरहेको हुन्छ । सिनेमा चलेको दुई दिनमै यति कमायो उति कमायो भनेर समाचार सार्वजनिक गर्नु विकास बोर्ड जस्तो जिम्मेवार निकायले गर्ने कुरा हो जस्तो लाग्दैन !! सबै चलचित्र बृत मिलेर कानुनी रुपमै, जबसम्म चलचित्र, चलचित्र भवनबाट उत्रीदैन तबसम्म व्यापार सार्वजनिक गर्न नपाउने नियमको लागि पहल गर्नुपर्ने जस्तो देखियो । चलचित्र विकास बोर्ड, नेपाली  चलचित्रको विकास  र समर्थनको लागि स्थापना गरिएको हो । गलत समयमा सूचना प्रकाशित गर्न होइन ।'

देशका धेरैजसो हलमा बक्स अफिस सिस्टम लागू भएपछि चलचित्र विकास बोर्डले यस वर्षदेखि स्वदेशी र विदेशी फिल्मको कमाई सार्वजनिक गर्न थालेको छ । बोर्डको यो कदमप्रति धेरै निर्माता र कलाकारले असन्तुष्टि व्यक्त गरिरहेका छन् । मिडियाले बोर्डको रिपोर्टलाई नै आधार मानेर समाचार प्रकाशित गर्ने गरेपछि चलिरहेको फिल्मलाई असर पुगिरहेको निर्माता र कलाकारहरुको बुझाइ छ ।

करिश्माले हाल उनको मुख्य भूमिका रहेको फिल्म ‘बगान’को कमाई बोर्डले मिडियालाई उपलब्ध गराउँदै आएको रिपोर्टमा कमजोर देखिएको छ । फिल्मकी निर्मात्री समेत भएकाले करिश्माले आपत्ति जनाएको बुझिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै