• २०८१ जेठ ६ आइतबार

सामाखुसीमा भए जस्ता घटना नदोहोरिने गरी काम गर्न समितिको निर्देशन

kharibot

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले यही साउन ७ गते रानीबारीस्थित सामाखुसीमा भएको दुर्घटनामा परी बेपत्ता भएका विधान आलेमगरको खोजी गर्न र त्यस्ता घटना नदोहोरिने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

वर्षात्का समयमा यस्ता घटना अन्यत्र नदोहोरिने गरी काम गर्न समितिले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानीलगायत सरकारी निकायलाई निर्देशन दिएको हो । 

समितिले भौगोर्भिक अध्ययन नगरी नदी किनारमा बस्ती नबसाल्न, काठमाडौँ उपत्यकाका खोलानालाको सफाइ गर्न पनि सरोकार भएका निकायलाई निर्देशन दिएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सामाखुसीमा भएको जस्ता घटना दोहोरिन नदिन विभिन्न निकाय संलग्न हुनुपर्ने भएकाले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

चक्रपथको ढल सामाखुसीमै मिसिने भएकाले व्यवस्थापनका लागि मन्त्रालय र त्यस अन्तर्गतका निकायले काम गर्ने उनको भनाइ थियो ।

वर्षात्मा मानिसको जीउ, धन, सम्पत्तिको सुरक्षाका लागि काम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री ज्वालाले स्पष्ट पारे । समितिका ज्येष्ठ सदस्य लालवीर चौधरीले पूर्वाधार निर्माण गर्दा आइपर्ने यस्ता समस्या समाधान गरेर अघि बढ्न निर्देशन दिएका थिए । सांसद राजेन्द्र बजगाईँले सडक विस्तार गर्दा अपाङ्गतामैत्री नबनाउँदा र काम सुरु गरेर अलपत्र छोड्दा सामाखुसीमा घटना घटेको बताए । 

सांसद प्रदीप पौडेलले चक्रपथबाट निस्कने ढललाई विष्णुमतीमा जाने गरी व्यवस्थापन गर्न सडक विभागलगायत सरोकार भएका निकायसँग माग गरे ।

सांसद ठाकुर गैरेले सामाखुसीमा भएजस्ता घटना दोहोरिन नदिने गरी सरोकारवाला सबैको समन्वय आवश्यक रहेको बताए । 

बैठकमा सांसदहरु बिना लामा, माधव सापकोटा, ऐनबहादुर शाही, प्रेम महर्जन, दीपकबहादुर सिंह, सन्तोष परियार, निशा डाँगीलगायत धारणा राखेका थिए । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माले काठमाडौँ उपत्यकाको प्राकृतिक ढल व्यवस्थापन बिग्रिएको र आधुनिक ढल व्यवस्थापनमा धेरै निकाय संलग्न हुने भएकाले पनि समस्या भएको बताए । काठमाडौँका एक चौथाइ सडकमात्र विभागले हेर्ने भएकाले पनि कहाँ के भइरहेको छ ? भन्ने कुराको जानकारी मन्त्रालयबाट मात्र पाउन नसकिने उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै