• २०८१ बैशाख २४ सोमबार

हुलाकी राजमार्गको हालसम्मको प्रगति ९१ प्रतिशत

kharibot

काठमाडौँ । राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्मको प्रगति ९१ प्रतिशत पुगेको छ । हालसम्मको भौतिक प्रगति र वित्तीय प्रगति दुवै ९१ प्रतिशत पुगेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

आयोजनाअन्तर्गत चितवन, नवलपरासी, दाङ, बाँकेलगायतका जिल्लामा वन क्षेत्रमा अध्ययनका लागि स्वीकृति नपाएका कारण निर्माण सुरु नभएको आयोजना प्रमुख चूडाराज ढकालले बताए । त्यसबाहेक अरू क्षेत्रमा भने निर्माणमा समस्या नभएको उनले बताए । उनले भने, “पुलहरू भने अझै पनि ठेक्का व्यवस्थापन गर्न बाँकी रहेका छन् ।”

गत आवमा लक्ष्यका आधारमा वित्तीय प्रगति झन्डै ९८ प्रतिशत र भौतिक प्रगति ८० प्रतिशत रहेको थियो । गत वर्ष १६ पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा १६ वटै सम्पन्न भएको र दुई सय ५० किमी सडक कालोपत्र गर्ने लक्ष्य लिइएकामा एक सय ४८ किमी कालोपत्र भएको आयोजनाले जनाएको छ । 

हालसम्म एक सय ७६ किमी सडक र ५० पुलको ठेक्का व्यवस्थापन हुन बाँकी रहेको उनले जानकारी दिए । वन क्षेत्रको बाहेक हाल झन्डै छ सय किमीमा निर्माणको काम भइरहेको उनले बताए । 

गत आवमा बजेट रु तीन अर्ब ४० करोड रहेकामा खर्च छ अर्ब ९० करोड भएको उनले बताए । केही वर्षयता अर्थ मन्त्रालयले आयोजनाका लागि छुट्याउने रकमभन्दा झन्डै दोब्बर रकम खर्च भइरहेको छ । 

अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता दिएको र राष्ट्रिय गौरवको आयोजना भएकाले बजेटको अभाव नहुने प्रमुख ढकालले बताए । उनले भने, “आवको अन्तिममा रकमान्तर गरेर आउने गरेको छ ।”

सरकारले आर्थिक वर्षको अन्तिममा थप बजेट वा भौतिक मन्त्रालयको पनि खर्च नहुने शीर्षकबाट रकमान्तर गरेर आयोजनामा खर्च गर्दै आएको छ । राष्ट्रिय गौरवका कुनै पनि सडक आयोजनामा सरकारले बजेट अभाव हुन दिएको छैन । 

अब विसं २०८४ सम्ममा आयोजना सम्पन्न गर्नका लागि वन क्षेत्रमा काम गर्ने वातावरण बन्नुपर्ने प्रमुख ढकालले बताए । निर्माण व्यवसायीले समयमा काम गर्नुपर्ने र भएका कामको समयमा भुक्तानी दिन सकियो भने मात्रै तोकिएको अवधिमा निर्माण सम्पन्न गर्न सकिने उनको भनाइ छ । 

विगतमा भएका धेरै ठेक्कामा सरकारले भुक्तानी दिन नसकेर समस्या भएको थियो । यो आयोजनामा भने अरू आयोजनामा भन्दा समस्या कम भएको उनको भनाइ छ । उनका अनुसार रु २५ करोड भुक्तानी दिन नसकिएको थियो । 
आयोजनाअन्तर्गत कतिपय रुग्ण पुल रहेका  छन् । कतिपय खण्डमा पुल विस्तार गर्न आवश्यक रहेको उनले बताए । 

हुलाकी राजमार्गलाई मधेस क्षेत्रको समृद्धिसँग जोडेर सुरु गरिएको हो । मधेसमा देशभरको झन्डै आधाभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने भएकाले आयोजना सम्पन्न भएपछि त्यहाँका नागरिकको पहुँच बढ्ने अपेक्षा गरिएको छ । त्यस क्षेत्रको व्यापार, कृषिलगायतका क्षेत्रमा राजमार्गले नयाँ सम्भावना खुल्नेछ । 

पूर्व–पश्चिम राजमार्गबाट सुरु भएर हुलाकी राजमार्गलाई पार गरी भारतीय सीमासम्म पुग्ने गरी ‘फिडर रोड’ निर्माण गरिएको छ । राजमार्गले पूर्वदेखि पश्चिमसम्म पूरै तराईलाई समेटेको छ ।

हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेको ‘फिडर सडक’ बाहेक अरू निकायबाट पनि उत्तर दक्षिण जोड्ने गरी सडक निर्माण गरिएको छ । सबै निर्माण सकिएपछि तराईका धेरै ठाउँसम्म सडकको सञ्जाल विस्तार हुनेछ ।

हुलाकी राजमार्ग र ‘फिडर सडक’ दुवै दुई–दुई लेनमा निर्माण अघि बढाइएको छ । सात मिटर कालोपत्र र दुईदेखि साढे दुई मिटर पैदलयात्रु मार्गसमेत गरी ११ देखि १२ मिटर चौडाइमा सडक निर्माण भइरहेको छ । जग्गा उपलब्ध हुँदा १२ मिटर र नहुँदा कम्तीमा ११ मिटर निर्माण गरिएको हो । 

आयोजनाअन्तर्गत जम्मा एक हजार आठ सय ५७ किमी सडक र दुई सय ५० पुल रहेको छ । यो आयोजनामा हालसम्म जम्मा ५९ अर्ब ६५ करोड खर्च भएको छ । हालसम्म एक हजार ३९ किमी सडक कालोपत्र भएको र त्यसमध्ये एक सय ३२ पुल सम्पन्न भएको छ । 

विसं २०६६ मा सुरु भएको आयोजनाको अवधि चालु आवसम्म रहेको छ । आव २०८३/८४ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै