• २०८१ जेठ ६ आइतबार

किन लिएका थिए अक्षयकुमारले क्यानाडाको नागरिकता ?

kharibot

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारले मंगलबार फेरि भारतीय नागरिक बनेको घोषणा गरेका छन् । उनले स्वतन्त्रता दिवसको अवसरमा ट्वीटरमार्फत आफ्ना फ्यानहरूसँग यो जानकारी दिएका हुन् ।

क्यानडाको नागरिकतालाई लिएर बारम्बार आलोचनाको सामना गर्नु परेका अक्षय कुमारले आफ्नो नागरिकताको प्रमाणपत्र ट्विटरमा सेयर गरेका छन् । ५५ वर्षीय अक्षय कुमारले यो घोषणासँगै सन्देश पनि पोस्ट गरेका छन् । उनले लेखेका छन्- 'हृदय र नागरिकता दुवै हिन्दुस्तानी हुन्। स्वतन्त्रता दिवसको शुभकामना !'

अक्षय कुमारले नब्बेको दशकमा लगातार फिल्म फ्लप भएपछि क्यानाडाको नागरिकता लिएको खुलासा गरेका थिए । एक समय यस्तो थियो की उनका १४ वटा फिल्म लगातार फ्लप भएका थिए । अक्षय कुमारले त्यसपछि स्थिति यस्तो बन्यो जसका कारण उनले क्यानडाको नागरिकताका लागि आवेदन दिएको बताएका थिए ।

२०१९ को लोकसभा चुनावमा उनले मतदानमा भाग नलिँदा उनको नागरिकतालाई लिएर सामाजिक सञ्जालमा हंगामा मच्चिएको थियो । सन् २०१९ को एक कार्यक्रममा अक्षय कुमारले सार्वजनिक रूपमा आफूले भारतीय राहदानीका लागि आवेदन दिएको जानकारी दिएका थिए ।

हिन्दुस्तान टाइम्स नेतृत्व शिखर सम्मेलनमा अक्षय कुमारले भने कि उनले आफ्नो भारतीयता प्रमाणित गर्न कुनै कागजात चाहिन्छ भनेर कहिल्यै सोचेका थिएनन् ।

त्यसपछि उनले भने- '१४ वटा फिल्मको असफलतापछि मैले अरु केही प्रयास गर्नुपर्छ भन्ने सोचेको थिएँ । क्यानडामा बस्ने मेरो एक घनिष्ठ साथीले मलाई त्यहाँ आउन आग्रह गर्नुभयो । उनले भने, हामी सँगै केही काम गर्छौं । उनी पनि भारतीय हुन् र त्यहाँ बस्छन् । मैले त्यहाँ राहदानी लिएको थिएँ किनकि मलाई लाग्यो कि मेरो करियर यहीँ सकियो । तर त्यसपछि मेरो १५औं फिल्म हिट भयो र त्यसपछि मैले पछाडि फर्केर हेर्नुपरेन । म अघि बढें तर मलाई कहिल्यै लागेन कि म मेरो पासपोर्ट परिवर्तन गर्नुपर्छ ।'

तर नागरिकतालाई लिएर विवाद भएपछि उनले भारतीय राहदानीका लागि आवेदन दिने निर्णय गरे ।

सोही कार्यक्रममा अक्षयले भनेका थिए- 'मैले यसका लागि आवेदन दिएँ, किनभने मलाई लाग्छ कि मानिसहरूले मेरो भारतीयता प्रमाणित गर्न मेरो पासपोर्ट देखाउनुपर्छ भन्ने मुद्दा बनाएका छन् । यो कुराले मलाई सताउँछ । त्यसैले म कसैलाई मौका दिन चाहन्न । त्यसैले मैले भारतीय राहदानीका लागि आवेदन दिएको छु । मेरी श्रीमती भारतीय नागरिक हुन् र मेरो छोरा पनि भारतीय हो । मेरो परिवारका सबैजना भारतीय हुन् । म यहाँ कर तिर्छु । मेरो जीवन यहीँ छ तर केही मानिसहरू अर्कै भन्न चाहन्छन् ।'

सेप्टेम्बर ९, १९६७ मा कश्मीरी आमा र पञ्जाबी बुबाको घरमा जन्मेका राजीव भाटियाले एक पटक आफ्नो बुबालाई भनेका थिए- की पढ्छु की नायक बन्नेछु ।

आउँदो वर्षहरूमा राजीव भाटियाले आफुलाई अक्षय कुमार बनेर सत्य प्रमाणित गरे । राजीवका पिता हरि ओम भाटिया यसअघि सेनामा थिए । त्यसपछि लेखापालको रूपमा काम गर्न थाले । केही समयपछि भाटिया परिवार दिल्लीबाट मुम्बई सर्यो । राजीवलाई माटुंगाको डन बोस्को स्कूलमा भर्ना गरिएको थियो ।

राजीव भाटियालाई खेलकुदमा निकै रुचि थियो । छिमेकी केटालाई कराते गरेको देखेपछि चासो जाग्यो । १० कक्षा पूरा गर्ने बित्तिकै, बुबाको आग्रहपछि राजीव मार्सल आर्ट सिक्न बैंकक गए । ब्ल्याक बेल्ट हासिल गरे । पाँच वर्षपछि कोलकाता–ढाकाको होटलमा ट्राभल एजेन्टको काम गर्दै दिल्ली पुगे । केही समयका लागि उनले लाजपत राईको बजारबाट कुन्दनको गहना किनेर मुम्बईमा बेचे ।

राजीव भाटियाले कसैको सल्लाहमा मोडलिङ सुरु गरेका थिए । राजीव भाटियाले फर्निचर पसलमा आफ्नो पहिलो फोटोसुटका लागि २१ हजारको चेक पाएका थिए । राजीवले यो कामबाट पाएको चेक मन पर्यो तर त्यसमा लेखिएको नाम कम रोचक थियो । त्यसपछि राजीव भाटियाले आफ्नो नाम बदलेर अक्षय कुमार राखे ।
यसलाई संयोग नै मान्न सकिन्छ की नाम परिवर्तन भएको भोलिपल्ट अक्षयले मुख्य नायकको रूपमा पहिलो फिल्म पाए । यो फिल्म सन् १९९१ मा आएको ‘सौगन्ध’ थियो ।

तर, यसअघि उनले फिल्म ‘आज’ मा सानो भूमिका पनि गरिसकेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै