• २०८१ बैशाख ३१ सोमबार

आयको भरपर्दो स्रोत बन्दैछ मुगुवासीका लागि भेडापालन

kharibot

फाइल तस्बीर

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाम गाउँका सुनबहादुर बढुवाल, उमेर ३३ वर्ष पुगे । पढ्ने, लेख्ने उमेरमा शिक्षा क्षेत्रलाई पछि राख्दै उनले १५ वर्षको उमेरमा भेडा पालनतिर लागे । उनले अहिले ५० भन्दा बढी भेडा पालन गरेका छन् । उनी वन पाखामा भेडासँगै आफ्ना दुःखसुखका दिनहरु गीतसँगै लैजान्छन् । 

कर्णाली प्रदेशको मुगु भौगोलिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा भरिपूर्ण मानिएको जिल्ला हो  । यस जिल्लामा यतिमात्र नभई पशु वस्तुमा पनि धनी मानिएको छ । पछिल्लो समय यहाँका कृषक भेडा तथा बाख्रा पालनबाट आकर्षित हुनुका साथै मनग्य आम्दानी पनि गर्दै आएका छन् ।  

सुनबहादुर मात्र होइनन् १० वर्षकै उमेरदेखि नै भेडा पाल्दै आएका कृष्णबहादुर बुढा अहिले उमेरले ७० वर्ष पुगे । उनीसँग ८० भेडा छन् ।  ज्येष्ठ नागरिक भए पनि उनलाई आफ्नो पेसा व्यवसायप्रतिको माया भेडा पालनमा उमेरले कहिल्यै पछि पर्न दिएन । विगतका दिनहरुमा भेडाबाख्राहरुलाई कुनै चोटपटक, रोग लागेमा जंगलकै जडीबुटीले उपचार गर्दा निको हुने गरेको उनी सम्झिन्छन् ।  

पछिल्लो समय मुगुवासीको भेडा पालन नै पहिलो आयश्रोत बन्दै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि किसानहरु यो व्यवसायमा अग्रसर भएका हुन् । किसानले वर्षमा एक लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको भेडा पालक कृषक भुमबहादुर खड्काले बताए । 

भेडा–बाख्राको ऊनबाट राडीपाखी, काम्लो, फेरे लगायतका मूल्यवान वस्तु तयार गरेर कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । स्थानीय सरकार लगायत अन्य कुनै पनि निकायबाट भेडा पालन कृषकहरुलाई अनुदानजस्ता कार्यक्रम नहुँदा अझै भेडाप्रतिको आर्कषण बढ्न नसकेका किसान  स्थानीय चन्द्र बहादुर बुढाको भनाइ छ ।  

जिल्लाका चार स्थानीय तहमा वर्तमान अवस्थाको प्रारम्भिक तथ्यांक अनुसार ४ हजार ९ सय घरधुरीले भेडावाख्रा पालन गरी रहेका छन् । जिल्लामा भेडाभन्दा बाख्रा पालनमा तुलनात्मक संख्याभन्दा बढी छ । अहिले जिल्लामा बाख्रा ७० हजार ४ सय रहेको छ भने ३१ हजार ३ सय ४४ भेडा रहेको तथ्यांकले देखाएको छ । 

बढी मात्रा छायाँनाथ रारा नगरपालिकाभित्रका नागरिकहरुले भेडाबाख्रा पालन गरी रहेका पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताए । गर्मी समयमा भेडा–बाख्रा चरिचरणका लागि उच्च लेक तथा बुकी पाटनमा लिने गरिन्छ भने जाडोयाममा औल तथा बेसीतर्फ पाल्ने गरिन्छ । संरक्षणभन्दा पनि संख्यात्मक अनुदानले भेडा पालक कृषक मर्कामा परेको दुखेसो पोखेका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै