• २०८१ श्रावण १२ शनिबार

एमसीसीको विरोधमा जाने समाजवादी मोर्चाको संकेत !

kharibot

काठमाडौँ । समाजवादी मोर्चाले बुटवलमा मंगलबार आयोजना गरेको सन्देश सभामा एमसीसीले विशेष प्राथमिकता पाएको छ ।

नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन डलरको अमेरिकी अनुदान सहयोग परियोजना अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  सम्झौता बुधबारदेखि कार्यान्वयनमा जादैछ । यसै सन्दर्भमा एमसीसीका उपाध्यक्ष क्यामरुन अल्फोर्ड काठमाडौँ आएका छन् ।

सम्झौता अनुसार एमसीसी भदौ १३, २०८० देखि ५ वर्षमा अर्थात २०८५ साल भदौ १३ भित्रसम्म सम्पन्न गर्नुपर्ने भएको छ । 

यसै सन्दर्भमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपा विप्लवसम्मिलित समाजवादी मोर्चामा एमसीसीको विषयमा नयाँ बहस शुरु भएको छ ।  अहिले नेपालको संसदबाट गत फागुन १५ गते पारित भएको १२ बुँदे व्याख्यात्मक टिप्पणी कार्यान्वयनमा जान्छ या जादैन भन्ने स्पष्ट रहेको छैन । 

मंगलबार बुटवलको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणा नै कार्यान्वयनमा लैजाने आश्वासन दिएका छन् ।

प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणा नेपालको संसद्‌बाट पारित भएकाले त्यसैलाई कार्यान्वयन गर्ने कुराबाट सरकार पछि नहट्ने स्पष्ट गरे । प्रचण्डले नेपालको संसद्‌ले पारित गरेअनुसार कार्यान्वयन नभए सडक आन्दोलन गर्ने समेत संकेत गरे ।

उनले भने- ‘नेपालको सदनबाट पास गर्दा गरिएको १२ बुँदे घोषणालाई सम्झौताको मूल अंश नबनाइए हाम्रा लागि सडकमा उत्रिने बाटो खुलै रहेको छ ।’

साथै उनले उपाध्यक्ष अल्फोर्डसँग १२ बुँदे व्याख्यात्मक घोषणा कार्यान्वयनबारे सोध्ने पनि बताए । उनले भने- ‘एमसीसीबारे अझै पनि धेरै चासो छ । केही साथीहरुको विरोधमा पनि स्वर सुनिएको छ । हामी अझै एमसीसीविरुद्ध सडकमा जाने अवस्था छ । १२ बुँदे व्याख्यात्मक घोषणाका कारण सडकमा जान सक्छौं । एमसीसी बारे हाम्रो ब्यख्यात्मक घोषणालाई सम्झौताको पाठ बनाउने हो कि होइन भनेर म उनलाई पनि सोध्छु ।’

उनले अगाडी भने - 'यदि १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको मूल अंश नभए त्यसपछि के गर्नुपर्छ ? के हुन्छ ? भन्ने मोर्चामा सल्लाह गर्छु । आन्दोलनमै जान पनि तयार हुनुपर्छ । म तयार छु ।’

त्यस्तै सो सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीले संसद्ले पारित गरेको व्याख्यामक टिप्पणी स्वीकार नगरेमा त्यसमा जान नसकिने स्पष्ट गरे । उनले देशभन्दामाथि सरकार नहुने बताउदै एमसीसीबारे सबै प्रष्ट हुनुपर्ने समेत बताए ।

त्यसैगरी मोर्चामा रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेकै अवस्थामा एमसीसी परियोजना कार्यान्वयन हुन नदिने घोषणा गरेका छन् । उनले नेपालको कानुन, सार्वभौमिकता मिचेर एमसीसीलाई अगाडि बढ्न नदिने बताउदै भने- ‘निस्वार्थ सहयोगको हामीले विरोध गरेको होइन तर शर्तसहितको अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै