• २०८१ जेठ ३ बिहीबार

टीकापुर योग नगरीका रूपमा चिनिँदै

kharibot

टीकापुर (कैलाली) । कैलालीको टीकापुर योग नगरीमा रूपमा चिनिँदै गएको छ । टीकापुरमा टीकापुर योगाश्रम, जेसिज हल, मानव धर्म सेवा समिति, सन्त निरंकारी मण्डल, विभिन्न मन्दिर, विभिन्न टोलमा हरेक बिहान योग कक्षा सञ्चालन हुन्छन् । नागरिक आफ्नो स्वास्थ्यका लागि व्यायाम, ध्यान र साधना आवश्यक छ भन्दै योग शिक्षामा जोडिन थालेका छन् । टीकापुरमा दैनिक हजारौँ नागरिक योगमा समय दिन थालेका छन् । 

यहाँ योगाभ्यासमा लागेका संस्था टीकापुर योगाश्रम, पतञ्जली योग समिति, विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजलगायतले योग शिक्षा विस्तारमा योगदान दिँदै आएका छन् । यी संस्थाले योग शिक्षा विस्तारका लागि योग प्रशिक्षक उत्पादनका कार्यसमेत गरिरहेका छन् ।

टीकापुरमा सयौँ योग शिक्षक छन् । टीकापुरका योग शिक्षकले छिमेकी जिल्ला बर्दिया, बाँके, कञ्चनपुर, अछामलगायत छिमेकी राष्ट्र भारतको तिकुनियालगायतका सहरमा समेत गएर योग सिकाउने गरेका छन् । 

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले योग प्रशिक्षक उत्पादनका लागि दिएको दुई सय घण्टाको तालिममा टीकापुरका ७४ वर्षीया बुद्धिबहादुर शाह उत्तीर्ण भएका छन् । शाह दुई सय घण्टाको तालिममा ए ग्रेड ल्याएर योग प्रशिक्षकमा उत्तीर्ण भए ।  नियमित योग अभ्यासपछि उनी निरोगी हुनुका साथै जोस जाँगर र हिम्मत बढेको बताउँछन् । 

“म पाँच वर्षदेखि नियमित योग अभ्यास गरिरहेको छु, म आफ्नो स्वास्थ्यका लागि योगमा जोडिएको हुँ”, बुद्धिबहादुर भनछन्, “म उमेरले ज्येष्ठ नागरिक भएकाले धेरैले तालिममा उत्तीर्ण हुन सक्दैन कि भन्ने सोचेका थिए । देशैभरिबाट सहभागी प्रशिक्षकमा म सबैभन्दा बढी उमेरको मानिस उत्तीर्ण भएँ ।”

देशभरिबाट सयौँ योगसाधक यो तालिममा सहभागी थिए । टीकापुरका देवानन्द न्यौपाने स्वास्थ्यमा जटिल समस्या भएपछि योगमा जोडिएका हुन् । दश वर्षदेखि योग अभ्यास नियमित गरिरहनुभएका ६५ वर्षका न्यौपाने पनि योग प्रशिक्षकमा ए ग्रेड ल्याएर उत्तीर्ण भए । 

“म निकै बिरामी भएँ, लामो उपचार गर्दा पनि निको नभएपछि परिवारका सदस्यले आश मारेर घर फिर्ता ल्याए”, न्यौपाने भन्छन्, “छोरी योग गर्ने भएकाले मलाई पनि बिस्तारै योग गर्न हौसला मिल्यो । नियमित योग गर्न थालेँ । हाल म निरोगी छु । म त युवाजस्तै जोसिलो र फुर्तिलो छु”, न्यौपाने आजभोलि विभिन्न ठाउँमा योग शिक्षा दिनसमेत जाने गर्छन् । 

“विभिन्न विद्यालयमा योग सिकाउन जान्छु, टोल टोलमा पनि जाने गरेको छु”, उनी भन्छन्, “नियमित योगले नयाँ जीवन दिएको छ ।”स्वास्थ्यकर्मी मीनबहादुर विक पनि योग प्रशिक्षक तालिममा सहभागी भएका थिए ।  टीकापुरमा योग प्रशिक्षक दीर्घराज गिरी र गीता गिरीले प्रशिक्षण दिएका थिए । 

 तालिममा उत्तीर्ण भएकाले आधारभूत योग कक्षा सञ्चालन गर्नसक्ने, विद्यालयमा समेत योग शिक्षा दिन मान्यता पाएको बताउँछन् । 

“अब हामी मान्यता प्राप्त शिक्षक भएका छौँ, अब हामीले विद्यालयमा वा जुनसुकै ठाउँमा योग शिक्षकका रूपमा काम गर्नसमेत पाउँछौँ”, उनले भने, “योग, साधना तथा ध्यानले मानिसलाई शारीरिक र मानसिकरूपमा स्वस्थ रहन सघाउँछ ।”

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका राष्ट्रिय उपाध्यक्ष दीर्घराज गिरी समाजले अन्तर्राष्ट्रिय मान्यता प्राप्त योग शिक्षक उत्पादन गर्दै आएको बताउँछन् ।  समाजले टीकापुरबाट विभिन्न चरणमा योग साधकहरू परीक्षामा सहभागी भएका र चौथो चरणमा टीकापुरमा १९ जना योग साधक प्रशिक्षकमा उत्तीर्ण भएका बताउँछन् । 

“यो तालिम दुई सयदेखि १५ सय घण्टासम्मको हुन्छ, तालिमको समयअनुसारको मान्यता हुन्छ”, उनी भन्छन्, “हाम्रो देशभर पाँच हजार प्रशिक्षक उत्पादन गर्ने र घरघरमा योग भित्र्याउने उद्देश्य छ ।”

दुई सय घण्टे तालिममा सहभागी साधकले प्रयोगात्मक र सैद्धान्तिक परीक्षा दिएका थिए । योग नगरी टीकापुर बनाउने अभियानमा आफूहरूले सहकार्य गरिरहेका योग प्रशिक्षक गिरीको भनाइ छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै