• २०८१ जेठ ३ बिहीबार

नागोर्नो-काराबाख क्षेत्रलाई पुनः कब्जामा लिएको अजरबैजानको घोषणा

kharibot

काठमाडौँ । २४ घण्टाको भिडन्तपछि अजरबैजानले नागोर्नो-काराबाख क्षेत्रलाई पुनः आफ्नो कब्जामा लिएको घोषणा गरको छ । अजरबैजानका राष्ट्रपतिले नागोर्नो-काराबाख क्षेत्रलाई पुनः आफ्नो कब्जामा लिएको घोषणा गरेका हुन् ।

सेप्टेम्बर १९ मा, अजरबैजानले आर्मेनियाको नागोर्नो-काराबाख क्षेत्रमा पृथकतावादीहरू विरुद्ध आक्रमण शुरु गरेको थियो । अजरबैजानले नागोर्नो-काराबाखका पृथकतावादीहरूले आत्मसमर्पण नगरेसम्म यो लडाइँ जारी रहने बताएको थियो ।

बीबीसीका अनुसार काराबाखमा उपस्थित पृथकतावादीहरूले आर्मेनियाबाट कुनै सहयोग नपाएपछि आत्मसमर्पण गरेको बताइएको छ । आर्मेनियाली अधिकारीहरुका अनुसार आक्रमणमा ७ जना सर्वसाधारण सहित ३२ जनाको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन् ।

आर्मेनिया पृथकतावादीका मानवअधिकार अधिकारीहरुका अनुसार आक्रमणमा करिब २०० जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन् । तर, यी तथ्यांकको आधिकारिक पुष्टि भने भएको छैन । अजरबैजानका अनुसार युद्धविराम हुनुअघि उनको सेनाले पृथकतावादीहरूको करिब ९० स्थान कब्जा गरेको छ । आक्रमणपछि आर्मेनियाको राजधानी येरेभानमा प्रधानमन्त्री निकोल पाशिन्यानविरुद्ध प्रदर्शन भएको थियो । उनले अवस्था सम्हाल्न नसकेपछि जनताले पशिन्यानको राजीनामा माग गरेका छन् ।

यसअघि दुई देशबीच भएको सम्झौताको मध्यस्थता गरेको रुसले आक्रमणको निन्दा गरेको थियो । रुसको रक्षा मन्त्रालयले दुवै देशलाई रक्तपात रोक्न, शत्रुता अन्त्य गर्न र नागरिकलाई बचाउन आग्रह गरेको थियो । उही समयमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अजरबैजानलाई आफ्नो सैन्य कारबाही तुरुन्त बन्द गर्न अपील गर्दै विवादको शान्तिपूर्ण समाधान खोज्न अजरबैजानको अवस्था नबिग्रन आवश्यक रहेको बताएका थिए ।

अजरबैजान-आर्मेनियाबीच किन द्वन्द्व ?

नागोर्नो-काराबाख क्षेत्र आर्मेनिया र अजरबैजानबीच २० वर्षभन्दा बढी समयदेखि विवादको विषय बनेको छ । कुनै पनि देशले यसलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिँदैन । सन् १९८८ देखि दुवै युरेसियाली देश नागोर्नो-काराबाख क्षेत्र कब्जा गर्न चाहन्छन् । यो क्षेत्र अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको हिस्सा हो, तर १९९४ देखि आर्मेनियाका जातीय समूहहरूले कब्जा गरेका छन् । यस क्षेत्रलाई इरान, रुस र टर्कीको सिमानामा दक्षिण काकेशसको महत्वपूर्ण रणनीतिक क्षेत्र मानिन्छ ।

२०२० मा, अजरबैजानले आर्मेनियामा आक्रमण गरेपछि करिब छ हप्तासम्म युद्ध चलेको थियो । यस युद्धमा दुवै देशका ६,५०० भन्दा बढी मानिस मारिएका थिए । रुसले युद्धविरामका लागि मध्यस्तता गरेपछि युद्ध रोकिएको थियो ।

तर सेप्टेम्बर २०२२ मा अजरबैजानले शान्ति सम्झौता तोडेर फेरि आक्रमण गर्‍यो । त्यसपछि दुई देशबीचको भिडन्तमा २१० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै