• २०८१ बैशाख १५ शनिबार

भारतको कर्नाटकमा आगलागी- १४ जनाको मृत्यु

kharibot

नयाँदिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । कर्नाटक राज्यको राजधानी बेङ्गलोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेकोसमेत प्रहरीले जानकारी गराएको छ ।

पसल मालिक तथा जग्गा मालिकलाई अग्नि सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लागेको छ । “प्रारम्भिक अनुसन्धानमा घटनापछि प्रहरी हिरासतमा रहेका पसल मालिकको लापरबाहीका कारण उक्त दुःखद् दुर्घटना भएको देखिन्छ”, मुख्यमन्त्री सिद्धारमैहाले पत्रकार सम्मेलनमा बताए ।

उनले दुर्घटनास्थलको भ्रमणपछि सञ्चारकर्मीसँग भने, “वास्तवमा के भएको थियो हामीलाई थाहा छैन, तथापि, हामीलाई पसलमा आवश्यक कुनै सुरक्षा मापदण्ड अपनाइएको थिएन भन्ने जानकारी मिलेको छ । पसलको हालसालै अनुमतिपत्र नवीकरण गरिएको छ । पसलमा आगो निभाउने यन्त्र फेला परेको छैन । यो पसल मालिकको पूर्ण लापरबाही हो ।”

घटनाको अनुसन्धान गर्न सीआईडीलाई आग्रह गरिएको पनि उनले जानकारी गराए । मृतकमध्ये केहीको सनाखत हुन बाँकी रहेको पनि उनले बताए । “घटनामा १४ जनाको मृत्यु भएको छ र ती सबै तमिलनाडूका हुन्, तीमध्ये अधिकांश विद्यार्थी छन् । उनीहरू आफ्नो शिक्षाका लागि पैसा कमाउन यहाँ काम गरिरहेका थिए्,” मुख्यमन्त्री सिद्धारमैहाले भने ।

कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले पनि आइतबार घटनास्थलको निरीक्षण गरेका छन् । मृतकका आफन्तजनलाई राहतस्वरूप जनही पाँच लाख भारतीय रुपैयाँ दिने राज्य सरकारले यसपहिले नै घोषणा गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय