• २०८१ बैशाख २० बिहीबार

मदन भण्डारी राजमार्गमा कति पुल भए निर्माण ? 

kharibot

काठमाडौँ । पूर्व–पश्चिम जोड्ने देशको चौँथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत एक सय आठ पुल निर्माण गरिएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा आधाभन्दा धेरै पुल निर्माण भएर सञ्चालनमा आएको उक्त आयोजनाको निर्देशनालयले जनाएको छ । 

हाल निर्माणको क्रममा ४५ पुल रहेको निर्देशनालयका सूचना अधिकारी (इञ्जिनीयर) शिव तिमल्सिनाले जानकारी दिए । डिजाइन भएर ठेक्कामा जान बाँकी छैन । उनले भने, “आयोजनाका सबै पुल डिजाइन बिल्डबाट निर्माण भइरहेको छ । डिजाइन भएका पुल सबै निर्माण भैसकेका छन् ।” उक्त आयोजनाले निर्माण गर्न बाँकीमा एउटा ठूलो पुल कणार्लीमा रहेको छ । अधिकांश भने साना पुल रहेका थिए । 

आयोजनाको हालसम्मको प्रगतिमा पुल निर्माणको प्रगति सडकभन्दा बढि छ । समष्टिगत प्रगति ४५ प्रतिशत रहेकामा पुल निर्माणको प्रगति ५८ प्रतिशत छ । वार्षिक बजेट विनियोजन न्यून भएको र सडकसँगै पुल निर्माणका लागि समस्याका रुपमा रहेको सूचना अधिकारी तिमल्सिनाले बताए । 

हरेकवर्ष सुरुमा विनियोजनभन्दा दोब्बर–तेब्बर खर्च भइरहेको उहाँको भनाइ थियो । सूचना अधिकारी तिमल्सिनाले भने, “खर्च बढी भइरहे पनि सुरु विनियोजन बढ्न सकेको छैन ।” टेण्डर आह्वान  गर्न पनि सुरुमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितताका लागि सहमति लिनुपर्ने उनले बताए । 

त्यसैले जतिजति सुनिश्चितता भयो त्यतित्यति काम भइरहेको छ । बाँकी पुल निर्माणका लागि पनि यसै वर्ष नै टेण्डर आह्वान हुने स्थिति नदेखिएको योजनाले जनाएको छ । बजेट विनियोजन कम हुनु र थप बजेटका लागि पनि अहिले देशको आर्थिक अवस्थाका कारण ढुक्क हुने अवस्था देखिँदैन । 

गत आवमा दस पुल निर्माण गर्ने लक्ष्य लिइएकामा १४ पुल पूरा भएको थियो । दमकस्थित योजना कार्यालयले छ, हेटौँडास्थित कार्यालयले पाँच र गाईघाटस्थित कार्यालयले तीन पुल निर्माण गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै