• २०८१ बैशाख २२ शनिबार

निजी जग्गाको स्वीकृति लिएर सरकारी जमिनबाट ५० लाख मूल्य बराबरको माटो बिक्री

kharibot

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ मा निजी जग्गाको स्वीकृति लिएर सरकारी जमिनबाट ठूलो  परिमाणको माटो चोरी गर्दै उद्योगमा बिक्री गरिएको घटना सार्वजनिक भएको छ । निजी जग्गाबाट एक सय टिपर माटो उत्खनन गर्न नगरपालिकाबाट अनुमति पाएका स्थानीय महमद दिन मियाँ चुरिहारले सरकारी जग्गाबाट १ हजार टिपरभन्दा बढी माटो चोरेर बिक्री गरेका हुन् । 

हालको बजार मूल्यअनुसार उक्त माटोको मूल्य ५० लाखभन्दा बढी हुन आउँछ । उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र कार्यालयका प्राविधिकलाई समेत झुक्याएर सरकारी जग्गाको माटो जीतपुरसिमरा–४ स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालित पशुपति सेरामिक्स उद्योगमा चोरी बिक्री गरेको घटना बाहिरिएको हो । 

नम्बरी जग्गाबाट व्यावसायिक प्रयोजनको लागि भन्दै नगरपािलकाबाट अनुमति लिएर सरकारी जग्गाबाट माटो चोरी गरी बिक्री भएको घटना बाहिर आएपछि स्थानीय जनप्रतिनिधिकै संरक्षण र निर्देशनमा माटो चोरी भएको भन्दै कारबाहीको माग हुन थालेको छ । माटो चोरी गरी बिक्री गर्ने काममा वडा नम्बर ११ का जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका केही कार्यकर्ताहरुको संलग्नता रहेको देखिएको छ । 

साविक फत्तेपुर गाविस वडा नम्बर ९ हाल जीतपुरसिमरा वडा नम्बर ११ स्थित कित्ता नम्बर ३५ को पाँच बिगाह क्षेत्रफलको जग्गाबाट एक सय टिपर माटो व्यावसायिक बिक्रीका लागि चुरिहारले नगरपालिका कार्यालयबाट अनुमति लिएका थिए । तर, उनले अनुमति पाएकोभन्दा फरक कित्ता नम्बर ४२ को १८ बिगाह जग्गामध्ये दुई बिगाह जग्गाबाट एक हजार टिपरभन्दा बढी माटो उत्खनन् गरी बिक्री गरेको पाइएको छ । 

चुरिहारको माग बमोजिम वडा नम्बर ११ को कार्यालयले स्वीकृति प्रदानका लागि असोज ४ गते नगर कार्यालयलाई सिफारिस गरेको थियो । वडाको सिफारिस लिएर नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल कार्यालय पुगेका थिए । 

सोही सिफारिस पत्रको आधारमा कार्यालयले प्राविधिक मूल्याङ्कनसमेत नगरी माटो बिक्रीका लागि स्वीकृति प्रदान गरेको थियो । यस क्रममा स्थलगत अध्ययनको लागि नगरपालिकाबाट खटिएको प्राविधिक टोलीलाई वडाका जनप्रतिनिधिले कित्ता नम्बर ३५ भन्दै हाल उत्खनन् गरिएको जग्गा कित्ता नम्बर ४२ को सरकारी जग्गा देखाएका थिए । 

सो जग्गा नगरपालिका मताहातको ऐलानी पर्ती हो । नगरपालिकाले मियाँका बुबा हसिना चुरिहारको नाममा ७० लाख राजश्व लिएर असोज ५ गते माटो उत्खननको लागि स्वीकृति दिएको थियो । 

यता, घटना बाहिर आएपछि नगरपालिकाको प्राविधिक टोलीले सो क्षेत्रको पुनः अनुगमन गरेको छ । स्वीकृति लिएकोभन्दा फरक स्थान र बढी परिमाणमा माटो उत्खनन् भएको पाइएको इन्जिनियर सञ्जीव रुपाखेतीले बताए ।

टोलीले माटो उत्खनन् गरिरहेको एउटा एक्साभेटरलाई समेत नियन्त्रणमा लिएको छ । गैरकानुनी रुपमा बिक्री भएको पाइएपछि कार्यालयले माटो खरिद गर्ने पशुपति सेरामिक्स उद्योगसँग सोकोे विवरण माग गरेको प्रमुख प्रशासकीय अधिकृत बेदराज फुयालले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै