• २०८१ बैशाख १५ शनिबार

गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ- प्रधानमन्त्री प्रचण्ड

kharibot

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताएका छन् ।

पश्चिम चितवनको शारदानगरमा आज तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताए । प्रधानमन्त्री दाहालले भने, “देश बाहिर रहनुहुने नेपालीको हितमा सामाजिक सुरक्षा कोषको मात्रै होइन, नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको छ ।”

प्रधानमन्त्री दाहालले सरकार सुशासन समाजिक न्याय आर्थिक समृद्धिको पक्षमा प्रतिबद्धता रहेको उल्लेख गरे । “अहिले धेरै क्षेत्रमा सुधार देखिएको छ । तराईमा मिटरब्याजीको समस्या समाधान गर्नका निम्ति सरकारले लिएको पहल सार्थक भएको छ, त्यसबाहेक सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा पनि काम भएका छन्”, उनले भने ।

वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी उनीहरूको भविष्य सुन्दर बनाउने सरकारले पहल गरेको उनको भनाइ छ ।

उनले थपे , “अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रयास सामाजिक न्यायको काम हो । यसैबाट सरकारले समाजवादको आधार तयार गर्ने काम सुरु गरेको छ ।” प्रधानमन्त्री दाहालले देशको स्वाधिनता, स्वतन्त्रता र आत्मसम्मानलाई अभिवृद्धि गर्नका लागि आफ्नो विदेश भ्रमण फलदायी भएको बताए ।

“म प्रधानमन्त्री भएपछि भएका भारत, इटली, संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका क्रम जे सहमति र समझदारी भएका छन्, त्यसले नेपालको प्रतिष्ठा, राष्ट्रिय स्वाधिनता, असंलग्न र स्वतन्त्र परराष्ट्रनीतिलाई नयाँ उचाइमा पु¥याएको छ”, उनले भने ।

वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उनको भनाइ छ । उनले मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए ।

संविधानको व्यवस्थाअनुसार सम्पूर्ण नेपालीहरूलाई स्वच्छ, गुणस्तरीय खानेपानीको व्यवस्था मिलाउने जिम्मेवारी राज्यको भएको उनको भनाइ थियो । सो अवसरमा खानेपानीमन्त्री महिन्द्र राय यादवले नेपाल धेरै प्रदूषण हुने मुलुकको सूचीमा विश्वको दशौँ नम्बरमा रहेको उल्लेख गर्दै यसलाई घटाउन सरकार लागिपरेको बताए । उनले गठबन्धनको सरकार पाँच वर्ष टिक्ने र राजनीतिक स्थिरता कायम रहने उनको भनाइ थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र ९२ प्रतिशत नागरिकले स्वच्छ खानेपानी उपभोग गर्न पाएको भन्दै दुई वर्षभित्र शतप्रतिशत नागरिकलाई खानेपानीको पहुँचमा पुर्याउने बताइन् । खानेपानी मन्त्रालयका सचिव रामआधार साहले सन् २०३० सम्ममा शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी पुर्याउने गरी काम भइरहेको बताइन् ।

सो अवसरमा भरतपुर महानगरपालिका वडा नं १९ का पूर्ववडाअध्यक्ष कर्णबहादुर गुरुङ, खानेपानी तथा ढल व्यवस्थापन बिभागका महानिर्देशक कमलराज श्रेष्ठ, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना निर्देशक रत्न सापकोटालगायतले धारणा राखेका थिए ।

कार्यक्रममा शारदानगर जागृति सहरी खानेपानी तथा सरसफाइ आयोजना, जखडीमाई सहलगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको संयुक्तरूपमा उद्घाटन गरिएको हो ।

शारदानगर खानेपानी तथा सरसफाइ आयोजनाबाट भरतपुर महानगरपालिका वडा नं १७, १९ र २० का तीन हजार पाँच सय ६४ घरधुरीका १९ हजार चार सय ४२ जना लाभान्वित हुनेछन् ।

उक्त आयोजना रु ३७ करोड ९९ लाख ४७ हजार तीन सय १६ को लागतमा निर्माण गरिएको हो । जखडीमाई सहलगानी खानेपानी आयोजनाबाट भरतपुर महानगरपालिकाको वडा नं १० र ११ का तीन हजार तीन सय ६८ घरपरिवारका १३ हजार पाँच सय ५२ जना लाभान्वित हुनेछन् ।

विसं २०७७ असार ८ गते निर्माण सुरु भई विसं २०८० साउन ३० गते सम्पन्न भएको सो आयोजना निर्माणका लागि रु २७ करोड १७ लाख २४ हजार पाँच सयमा ठेक्का सम्झौता भएको थियो ।

दिव्यनगर खानेपानी आयोजनाबाट भरतपुर महानगरपालिका-२६ ले साबिकको दिव्यनगर गाउँ विकास समितिका एक हजार आठ सय ५५ घरधुरीका नौ हजार दुई सय ७१ जना लाभान्वित हुनेछन्।

विसं २०७८ असार ७ गते निर्माणको सम्झौता गरी विसं २०८० असोज ३ गते सम्पन्न गरेको हो । आयोजना निर्माणमा रु १० करोड ४४ लाख १७ हजार एक सय ९२ खर्च भएको छ ।

कार्यक्रममा खानेपानी आयोजना निर्माणमा सहयोग पुर्याउने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना निर्देशक रत्न सापकोटा र समयमा काम सम्पन्न गरेकामा निर्माण व्यवसायी सहदेव खड्कालाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय