• २०८१ बैशाख १५ शनिबार

'एनआरएनएमा बद्री केसीले लिएको शपथ अवैध छ'

kharibot

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारद्वय महेश कुमार श्रेष्ठ तथा आर के शर्माले संघका निवर्तमान अध्यक्ष बद्री केसीले आफुलाई आफै अध्यक्ष घोषित गरी शपथ लिने काम अवैध भएको जनाएका छन्।

शनिबार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै  अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले निवर्तमान अध्यक्ष केसीले तीन जना अध्यक्षहरु बीच भएको सहमति उल्लङ्घन गरेको आरोप लगाए। स्मरणीय छ, संघका अध्यक्ष कुल आचार्य, रबिना थापा तथा केसीले निर्वाचनमा भएका अनियमतिताहरुको छानबिन गर्न प्राविधिक विज्ञहरु रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्न शुक्रबार सहमति जनाएका थिए ।

तर उक्त सहमतिको मसी सुक्न नपाउंदै आफै उम्मेदवार रहेका निवर्तमान अध्यक्ष केसीले शनिबार हतार हतारमा शपथ लिएका थिए । 'देशको समृद्धिमा योगदान दिने उद्देश्यले म यो अभियानमा लागेको हुँ।  संस्थालाई यसरी दुरुपयोग गरिन्छ भन्ने थाहा पाएको भए म यो अभियानमै लाग्ने थिइनं,' श्रेष्ठले भने ।

त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार आर के शर्माले भेरोले गराएको मतदान प्रक्रियाबारे गम्भीर आशंकाहरु उत्पन्न भए पछि आफुहरुले छानबिन गर्न माग गरेको तर निर्वाचन समितिका एक सदस्यले  विवादको टुंगो नलाग्दै एकपक्षीय रुपमा केसी र उनी पक्षिय उम्मेदवारहरुलाई शपथ दिलाएको बताए ।  'यस्तो शपथ हामीलाई मान्य छैन,'उनले भने । उनले एक छानबिन समिति गठन गरेर निर्वाचनका क्रममा भएका सबै अनियमितताहरुको छानबिन गर्न माग पनि गरे ।

निवर्तमान अध्यक्ष बद्री केसीले एक पक्षीय रुपमा शपथ लिए पछि अध्यक्षद्वय कुल आचार्य र रबिना थापाले छुट्टै भेला गरी महाधिवेशनलाई निरन्तरता दिएका छन्।  उनीहरुले निर्वाचन सम्बन्धी विवादको टुंगो नलाग्दै गराइएको शपथ विधान विपरित भएकाले त्यो मान्य नहुने बताएका छन् ।

कार्यक्रमको संचालन संघका महासचिव डा केशव पौडेलले गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै