• २०८१ बैशाख १७ सोमबार

भारतीय गीतकार समिरलाई काठमाडौँमा अभिनन्दन

kharibot

काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ । आज यहाँ लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समिरलाई ‘समिर अभिनन्दन समारोह’मार्फत अभिनन्दन गरिएको हो । 

विश्वमा सबैभन्दा बढी गीत लेखेवापत ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउनुभएका समिरले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेका छन् ।

सो समारोहमा गीतकार समिरले प्रकृतिको अनुपम सुन्दर देश, पशुपतिनाथको यस भूमिमा आएर सम्मानित हुन् पाउँदा आफू निकै प्रफुल्लित भएको बताए । हिमाल र पहाडबीचबाट काठमाडौँ उत्रिने क्रममा एउटा गीत फुरेको अनुभूति सुनाउँदै नेपालबाट आफूले धेरै सिकेर जाने बताए । 

काठमाडौँ उत्रनु अगाडि हिमालको सुन्दर दृश्य हेर्दै एउटा गीत रचना गरिसकेको बताउँदै गीतकार समिरलेसो गीतलाई नेपालमा अत्यधिक मन पराउने र नेपालका लागि धेरै लेख्ने बाचा पनि गरे । उनी व्यवसायी वसन्त चौधरीको निमन्त्रणामा पहिलो पटक नेपाल आएका हुन् । 

अहिलेसम्म आफूले धेरै सम्मान पाएको तर जसले गीतकारको पीडा दुःख बुझेको छ उसकै सम्मान पाउँदा खुसी महसुस गरेको भन्दै उनले  गीतकार सङ्घ नेपाललाई धन्यवाद दिए । 

सो अवसरमा गीतकार तथा साहित्यकार बसन्त चौधरीले समिर अन्जानको नाम साङ्गितिक क्षेत्रमा निकै चर्चित रहेको बताए । हिन्दी चलचित्र र  गीत मन पराउने सबैले उनलाई मन पराउने उनको भनाइ थियो । गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले सङ्घले विभिन्न समयमा गीतकारको सम्मान गर्दै आएको भन्दै यसपटक समिर अन्जानलाई अभिनन्दन गर्ने अवसर प्राप्त भएको र सो अवसरका लागी लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरलाई धन्यवाद दिए । 

गीतकार समिरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै