• २०८१ कार्तिक ६ मंगलबार

भूकम्प प्रभावित क्षेत्रमा पालभित्र शुरु भयो पठनपाठन

kharibot

तस्बीर: रासस

जाजरकोट । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालयमा पठन पठन शुरु गरिएको छ । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा अस्थायी संरचनामा सोमबारदेखि पठनपाठन सुरु गरिएको हो । 

रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पुर्याए पनि अस्थायी संरचना निर्माण गरिएको छ । ती जिल्लाका केही स्थानीय तहका विद्यालयमा सोमबारदेखि नै पठनपाठन सुरु भएको छ भने केही स्थानीय तहका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ । जाजरकोटको नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलवीर विकका अनुसार भूकम्पबाट ५४ विद्यालयमा क्षति पुगेको छ । जसमा १२८ कक्षाकोठा पूर्णरूपमा क्षति पुगेको छ ।

नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकले आंशिकरूपमा क्षति भएका विद्यालयमा पठनपाठन थालिएको जानकारी दिए । विद्यालयका प्रधानाध्यापकले समेत विद्यालय सञ्चालन हुने भएकाले सबै शिक्षक विद्यालयमा आउन आग्रह गर्दै सूचनासमेत प्रकाशित गरेका छन् । अस्थायी टेन्ट निर्माण भइसकेकाले निरन्तर पढाइ हुने उनले बताएका छन् । 

“क्षति नभएका विद्यालयमा भोलिदेखि नै पठनपाठन हुन्छ, पूर्णरूपमा क्षति भएको विद्यालयमा पनि अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने तयारी भइरहेको छ, केही दिन चाहिँ समय लाग्ला । बनिसकेपछि पढाइ हुन्छ”, उनले भने ।

सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञबहादुर खत्रीले भूकम्पबाट प्रभावित सबै विद्यालयमा पठनपाठन थाल्न पहल गरिरहेको बताए । उनले भने, “क्षति नभएका विद्यालयमा भोलिदेखि नै पढाइ हुन्छ, क्षति भएकोमा पनि अस्थायी टहरा बनाएर भए पनि पढाइ थाल्न भनेका छौँ ।” प्रदेश सरकारबाट सबै मिल्ने पहल र सहयोग हुने उनको भनाइ छ । अहिले जाजरकोटको छेडागाड, कुशेमा पाँचतारा युवा संरक्षण मञ्चले विद्यालयमा अस्थायी संरचना निर्माण गर्ने जिम्मेवारी लिएको छ भने नलगाड, भेरी र बारेकोटमा युनिसेफले अस्थायी संरचना निर्माणको जिम्मेवारी लिएको छ । 

रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले नगरपालिकाभित्रको भूकम्प प्रभावित विद्यालयमा भोलिदेखि नै पठनपाठन थाल्ने जानकारी दिए । उनले भने, “जहाँ आंशिक क्षति पुगेको छ, त्यहाँको सबै अवस्था बुझी पठनपाठन मङ्गलबारदेखि नै हुन्छ, पूर्णरूपमा क्षति पुगेको ठाउँमा भने हामीले अस्थायी सिकाइ केन्द्र बनाएर तयारी अवस्थामा राखेका छौँ । त्यसैले पठनपाठन रोकिँदैन ।” उनका अनुसार भूकम्पबाट नगरपालिकाभित्रका ६४ विद्यालयमा क्षति पुर्याएको थियो । जसमा ५२ विद्यालयमा पूर्णरुपमा क्षति पुगेको छ । पठनपाठन थाल्न एक सय ३९ अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ । 

“अझै पनि प्रदेश सरकार, विभिन्न सङ्घसंस्थाले सहयोग गर्दै आएका छन्, अझै थप अस्थायी सिकाइ केन्द्र बनाएर सहजरूपमै पठनपाठन थाल्नेछौँ, किताबको व्यवस्था पनि गर्दै छौँ”, उनले भने । 

भूकम्पबाट मनोबल कमजोर भएका विद्यार्थी घरदेखि विद्यालयसम्म भत्किएकाले विद्यालयमा गएर पढ्न मानसिकरुपमा तयार भएको पाइँदैन । भूकम्पको त्रासले गर्दा बालबालिका राति सुतेको समयमा कराउने, भूकम्प आयो भन्नेसम्मका गतिविधि देखाउन थालेको नलगाड नगरपालिका–१ कल्पतकी भावना विकले बताइन् । त्रिपालको बसाईका कारण बालबालिका बिरामी भइरहेको उनको भनाइ छ । केही विद्यार्थीको किताबसमेत घरभित्र पुरिएको अवस्थामा रहेको छ ।

“किताबविहीन अवस्था कसरी विद्यालय जानु ?” जुनी कम्युन माध्यमिक विद्यालय नलगाड–५ का भावना सिंहले भने । सबै विद्यार्थी त्रिपालमा बसेर पढ्नका लागि चुनौती हुने देखिएको छ । भूकम्प प्रभावित विद्यालयमा मनोपरामर्श सेवा सञ्चालन गर्नुपर्ने देखिएको छ । भूकम्पको परकम्पन आउन नछाडेकाले पनि अर्को समस्या भएको हो । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले पनि सक्रिया शैक्षिक क्रियाकलाप सञ्चालन गर्न गाह्रो हुने देखिएको छ । कात्तिकदेखि चैतसम्म भारी मात्रामा हावाहुरी चल्ने मौसम भएकाले निर्माण गरिएका त्रिपाल कसरी सुरक्षित गर्ने भन्ने चुनौती समेत छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै