सर्लाही । सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ ।
नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने कि नबनाउने भन्ने विषयमा मेयर र अन्य राजनीतिक दलहरुबीचको विवादलाई लिएर कांग्रेससहितका अन्य दलका कार्यकर्ताले आन्दोलन गरेपछि प्रहरीसँग झडप भएको थियो ।
झडपका क्रममा गोली लागेर अन्दाजी ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो । साहको टाउकोमा चोट देखिएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
विवाद भए पनि प्रदर्शनकारीले मेयर कल्पनाकुमारी कटुवालको घरमा आक्रमण गरेको प्रहरीले जनाएको छ । सोही क्रममा प्रहरीको एउटा, नगरपालिकाको तीनवटा गाडीमा तोडफोड भएको छ ।
झडपका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको र आठ प्रहरी घाइते भएका छन् ।
प्रदर्शन नरोकिए पछि प्रशासनले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीद्वारा नगरपालिकाको सितापुर जाने बाटो, हजिया जाने बाटोको नहर, हनुमान मन्दिर र सोती/चोर्निया पुल सीमाभित्र भोलि बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।