• २०८१ जेठ ५ शनिबार

पाकिस्तानमा इरानको ड्रोन आक्रमण, दुई बालबालिकाको मृत्यु

kharibot

फाइल तस्बीर

काठमाडौँ । इरानले गएराति पाकिस्तानको बलुचिस्तानमा रहेको सुन्नी आतंकवादी संगठन जैश-अल-अदलको अखडामा मिसाइल र ड्रोन आक्रमण गरेको छ । 

पाकिस्तानको विदेश मन्त्रालयले पनि इरानले आफ्नो हवाई क्षेत्रको उल्लंघन गरेको जानकारी दिएको छ । इरानको आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन बालिका घाइते भएको विदेश मन्त्रालयले जनाएको छ । साथै पाकिस्तानले इरानले यस घटनाको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको छ ।

पाकिस्तानले थप भन्यो– 'इरानको यो कदम झन् चिन्ताजनक छ किनभने दुई देशबीच सञ्चारका धेरै माध्यम छन् । हामीले तेहरानमा रहेको इरानी सरकारसँग सम्पर्क गरी आफ्नो अडान सुनाएका छौं ।'

इरानी सञ्चारमाध्यमका अनुसार पाकिस्तानको त्यो क्षेत्र जहाँ हमला भएको थियो, त्यसलाई ग्रीन माउन्टेन भनिन्छ ।  इरान शिया बहुल देश हो, जबकि पाकिस्तानमा करिब ९५ प्रतिशत जनता सुन्नी छन् । पाकिस्तानका सुन्नी संगठनहरूले इरानको विरोध गर्दै आएका छन् । यस बाहेक बलुचिस्तानको जैश-अल-अदल आतंकवादी संगठनले इरानको सीमामा प्रवेश गरी त्यहाँको सेनामाथि पटक पटक आक्रमण गर्दै आएको छ । इरानको सेनालाई रिभोलुसनरी गार्ड भनिन्छ । इरान सरकारले आतंकवादी संगठनलाई नियन्त्रण गर्न पाकिस्तानलाई पटकपटक चेतावनी दिने गरेको छ ।

सन् २०१५ मा पाकिस्तान र इरानबीचको सम्बन्ध बिग्रिएको थियो । त्यसपछि पाकिस्तानबाट इरानी भूमिमा प्रवेश गरेका सुन्नी आतंकवादीसँगको भिडन्तमा आठ इरानी सैनिक मारिएका थिए । यी आतङ्कीहरू जैश अल अदलका पनि थिए । पाकिस्तानको बलुचिस्तान प्रान्तमा उच्च सुन्नी जनसंख्या छ र त्यहाँका आतंककारीहरूले शिया राष्ट्र इरानका सैनिकहरूलाई बारम्बार आक्रमण गर्छन् । जसका कारण पाकिस्तान–इरान सीमामा तनावको अवस्था रहेको छ ।

इरानी सेनाका कमाण्डोहरू २ फेब्रुअरी २०२१ को रातमा पाकिस्तानमा प्रवेश गरे र सर्जिकल स्ट्राइक गरेका थिए । जैश-अल-अदलले इरानका दुई सैनिकलाई अपहरण गरेको थियो । उनीहरुको उद्धारका लागि कमाण्डोहरुले अपरेशन गरेका थिए ।

इरानले पाकिस्तानी सेनालाई यस कारबाहीको बारेमा कुनै पूर्व जानकारी दिएको थिएन । फेब्रुअरी ३ मा, इरानी सैनिकहरूले आफ्नो मिसन सफल भएको घोषणा गरे र आफ्ना साथीहरूको उद्धारको बारेमा जानकारी दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै