• २०८१ बैशाख १५ शनिबार

भारतको थिङ्क ट्याङ्क समुह सीपीआरको लाइसेन्स रद्द, विदेशी अनुदान लिन नपाउने

kharibot

नयाँ दिल्ली । भारतले एक प्रमुख थिङ्क ट्याङ्क (प्रवुद्ध) समूह, सेन्टर फर पोलिसी रिसर्च (सीपीआर)लाई प्राप्त हुने विदेशी अनुदान रोक्न लगाएको छ । सीपीआर अनुदान रोक्का हुने केही विदेशी परोपकारी संस्था, अधिकार समूह र अन्य नागरिक समाज समूहमध्ये सबैभन्दा पछिल्लो हो ।

सीपीआर भारतको सार्वजनिक नीतिबारे छलफल हुने प्रसिद्ध मञ्चमध्ये एक हो । यसका कर्मचारीहरू भारतीय सञ्चारमाध्यममा प्रमुख वक्ता र स्तम्भकारका रूपमा स्थान पाएका प्रबुद्ध व्यक्तित्वहरू हुन् । उनीहरूले खासगरी काश्मीरको अशान्त क्षेत्रमा राष्ट्रिय सुरक्षा नीति र शासनलगायत संवेदनशील राजनीतिक मुद्दाहरूमा सञ्चारमाध्यममार्फत् दुर्लभ असहमतिको आवाज उठाएका छन् ।

सन् २०२२ मा कर विभागले छापा मारेपछि विदेशी चन्दा प्राप्त गर्ने सीपीआरको लाइसेन्सलाई गृह मन्त्रालयले अस्थायी रूपमा निलम्बन गरिसकेको छ । भारतीय राष्ट्रिय अङ्ग्रेजी दैनिक ‘द हिन्दू’ले गत बिहीबार जनाएअनुसार यसले ‘समसामयिक कार्यक्रमहरू’ को बारेमा रिपोर्ट प्रकाशित गरेको कारण अधिकारीहरूले लाइसेन्स रद्द गर्ने निर्णय गरेका थिए । 
गृह मन्त्रालयको राजपत्रमा विदेशी अनुदानसम्बन्धी नियम उल्लङ्घन गरेको भन्दै अनुमतिपत्र रद्द गरिएको पुष्टि गरिएको छ ।

सीपीआरका प्रमुख अन्तर्राष्ट्रिय दाताहरूमध्ये बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र अमेरिकी विदेश मन्त्रालय पनि थिए । सीपीआरकी अध्यक्ष यामिनी एैयरसँग एएफपीले प्रतिक्रियाका लागि अनुरोध गरेको तर उनले यससम्बन्धमा तत्काल कुनै प्रतिक्रिया दिन चाहिनन् । गत वर्ष उनले करछापा र विदेशी चन्दाको निलम्बनले सीपीआरलाई ‘अनिश्चित वित्तीय स्थिति’ मा पुर्याएको उल्लेख गरेकी थिइन् । 

स्थानीय सञ्चार माध्यम न्यूजलन्ड्रीले पनि गत वर्ष विदेशी अनुदानमा रोक लगाएपछि सीपीआरले आफ्नो जनशक्तिलाई ७५ प्रतिशतले कटौती गरेको र यसको सञ्चालनलाई उल्लेखनीय रूपमा कम गर्न बाध्य भएको उल्लेख गरेको थियो । सीपीआर भारतको कडा विदेशी अनुदान नियमको उल्लङ्घन गरेको आरोप लागेका धेरै स्वतन्त्र नागरिक संगठनहरूमध्ये पछिल्लो हो ।

एमनेस्टी इन्टरनेसनलले सन् २०२२ मा अक्सफामको भारतीय कार्यालयमा छापा मारेको र एमनेस्टी इन्टरनेसनलले अनुसन्धान एजेन्सीहरूलाई ‘स्वतन्त्र आलोचनात्मक आवाजहरूलाई सताउन, धम्काउन, चुप गराउन र अपराधीकरण गर्न’ हतियार बनाएको बताएको थियो । एम्नेस्टीले सन् २०१९ मा विदेशी लगानीको अनुसन्धानमा आफ्नै स्थानीय कार्यालयहरूमा छापा मारेको बताएको थियो र सरकारले आफ्नो बैंक खाताहरू रोक्का गरेपछि अर्को वर्ष भारतमा सेवा सञ्चालन बन्द गर्ने घोषणा गरेको थियो ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हालेयता भारतमा अभिव्यक्ति स्वतन्त्रता प्रभावित भएको अधिकारवादी समूहले दावी गर्दै आएका छन् ।  रिपोर्टर्स विदाउट बोर्डर्सले सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारत २१ स्थान तल झरेर १६१औँ स्थानमा पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै