• २०८१ बैशाख १५ शनिबार

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई ढकालको आग्रह

kharibot

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका गैरआवासीय नेपालीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

कतारको दोहामा आयोजित ‘नेपाल विजनेस एसोसिएसन कतार’को  सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषिजस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरेको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष ढकालले भने, “नेपालमा पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषिजस्ता क्षेत्रहरुमा लगानीको प्रचुर सम्भावना रहेको छ । यी क्षेत्रका साथै सहरीकरण, सूचना प्रविधिको क्षेत्रमा कतारले गरेका विकासको अनुभवलाई नेपालमा पनि प्रयोग गर्न सकिन्छ । त्यसैले नेपालमा लगानी गरी मुनाफा लिने अवसरबाट भरपुर फाइदा लिनुहोस् ।”

अध्यक्ष ढकालले कतारको आर्थिक वृद्धि र विकासमा नेपाली श्रमिकको योगदान रहेको बताउँदै ती श्रमिकलाई सीपयुक्त बनाउन नेपालमा प्राविधिक विद्यालय स्थापना गर्न कतारस्थित आवासीय नेपालीलाई आग्रह पनि गरे ।

गैरआवासीय नेपालीका लागि पछिल्लो पटक नेपाल सरकारले गरेको नागरिकको कानुनी प्रावधानले पनि विश्वमा छरिएर रहेका नेपालीलाई अब नेपालमा लगानीका लागि प्रोत्साहित गर्नुपर्ने उनको तर्क थियो । अध्यक्ष ढकालले भने, “आफ्नो लगानीको भविष्य के होला भन्ने पनि यहाँहरुको मनमा थियो होला तर अब नागरिकताको यो नयाँ कानुनी प्रावधानले नेपालमा लगानी गरी व्यवसाय गर्न सहज र सुरक्षित बनाएको छ भन्ने मलाई लागेको छ ।”

नेपालमा वैदेशिक लगानी भित्र्याउन आउँदो वैशाखमा नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा नेपाल सरकारले लगानी सम्मेलन गर्न गइरहेकाले नेपालमा लगानीको राम्रो वातावरण सिर्जना गरी आफूले पनि लगानी गर्न र कतारका लगानीकर्ताहरुलाई पनि यसका लागि प्रेरित गर्न उनको आग्रह थियो ।

यो सम्मेलनअगावै सरकारले धेरै कानुनी अड्चनहरु सुधार गरी लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको र सोही अनुरुप काम पनि भइरहेको उनले बताए ।

अध्यक्ष ढकालले नेपालको भूराजनीतिक परिस्थिति, विश्वका दुई उदीयमान अर्थतन्त्र भारत र चीनसँगको व्यापारिक सम्भावनाको सदुपयोग गर्न कतारमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रहसमेत गरे ।

भारतसँग हालै भएको ऊर्जासम्बन्धी उच्चतस्तरीय सम्झौता सकारात्मक रहेको र यसबाट हाम्रो देशमा हाइड्रोपावरमा हुने लगानी र ऊर्जा व्यापारको मार्ग प्रशस्त भएको पनि उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै