• २०८१ बैशाख ३० आइतबार

काठमाडौँका सडकमा १ हजार २६ वटा स्मार्ट लाइट जडान

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ ।

महाराजगञ्ज - लैनचौर - जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र - बालुवाटार - नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर - थापाथली - माइतीघर मण्डलासम्म ७६ वटा, चावहिल - बौद्ध सडक खण्डमा ९९ वटा वत्ती जडान गरिएका हुन् । यी खण्डको प्रारम्भिक अध्ययनमा क्रमशः ३४०, ३७४, १९०, ७६ र ९२ वटा बत्ती जडान गर्नु पर्ने देखिएको थियो । महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलका अनुसार स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको हो । पौडेलका अनुसार फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् । 

यसरी काम गर्दा पुराना पोलमा केही बत्ती राखिएका छन् । ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन् । यसका लागि १७७ वटा पोल प्रयोग भएका छन् । बिजुली जडान गर्न ३० हजार ७१० मिटर तारको प्रयोग भएको छ । 

स्मार्ट लाइट जडान गर्न वा पोललाई पुनःप्रयोगमा ल्याउन नसकिने ४२१ वटा पोल हटाइएको छ । यी पोलहरु महानगरपालिका, विद्युत प्राधिकरण र निजी क्षेत्रले गाडेका थिए ।  

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक सडक बत्ती जडान गरिएको हो । यसका लागि नेपाल विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य भएको छ । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता काम गर्न साझेदारसँग सहकार्यका लागि २०७९ माघ २४ गते सम्झौता भएको थियो । 

जडान गरिसकेपछि सबै बत्तीहरुलाई एउटै प्रणालीमा आवद्ध गरिनेछ । यसपछि एउटै स्क्रिनबाट बत्तीलाई आवश्यकताका आधारमा बत्तीलाई चहकिलो बनाउने, मधुरो बनाउने, निभाउने वा बाल्ने काम गर्न सकिन्छ । 

११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमानको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने सम्झौतामा उल्लेख छ । यसबाट काम गर्नका लागि रुट पनि छुट्याइएको छ । बत्ती जडान गर्न प्राधिकरणले बोलपत्र आव्हान गरेको थियो । यसबाट छनौट भएको निर्माण पक्षसँग २०८० बैशाख २५ गते सम्झौता भएको थियो । सम्झौताबमोजिम २०८१ बैशाख २४ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ । 

महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइती घर मण्डलादेखि बागबजार सम्म, बागबजारदेखि शितल निबाससम्म, सिनामंगल अन्तरराष्ट्रिय विमानस्थलदेखि गौशालाहुँदै कमलपोखरीसम्म, चावहिलदेखि जोरपाटीसम्मको रुट राखिएको छ । 

यसै गरी विद्युत प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटीहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् । 

यो रुटमा बत्ती जडानको काम तत्काल सुरु हुने प्रक्रियामा छ । विद्युत प्राधिकरणका उपप्रबन्धक प्रमोद रिजाल भन्छन्, ‘हामीले काम गर्ने सडक खण्डमा यस अघि सौर्यबत्तीका लागि गाडिएका पोल छन् । ती पोलहरुको पुनःप्रयोग योजना स्वीकृति हुने चरणमा छ । योजना स्वीकृत भएपछि काम थालिनेछ ।’

यस खण्डमा १ हजार १७ वटा सडक बत्ती राख्नु पर्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । यस्तै ९२ वटा नयाँ पोल राख्नुपर्ने, २१ हजार ९७० मिटर तार आवश्यक पर्ने अनुमान छ ।  यसरी बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना आफ्ना स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, व्याट्रीलगायत सामानको आफैँले पुनप्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ । 

प्राधिकरणले बत्ती जडान गरिसकेपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गर्नेछ । यसपछिको मर्मत सम्भार महानगरपालिकाले गर्नेछ । सडक बत्ती प्रयोग भए वापतको शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै