• २०८१ बैशाख १४ शुक्रबार

मन्त्रिपरिषद बैठक : विमस्टेकको चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्ने निर्णय 

kharibot

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले विमस्टेकको चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्ने औपचारिक निर्णय गरेको छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको हो ।

बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरूसँग गर्ने निर्णय पनि गरेको छ ।

शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएको बैठकपछि सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले काठमाडौं–तराई प्रदेश मार्ग सडक आयोजना सञ्चालन कार्यविधि, २०७५ लाई पनि स्वीकृत गरेको छ । 

त्यसैगरी, सरकारले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकलाई संसदमा पेश गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । प्रवक्ता बाँस्कोटाले कृषि जैविक विविधता संरक्षण तथा सदुपयोगसम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरिएको बताए।

सरकारले विद्यार्थी भर्ना अभियान अन्तरगत अझै ५९ हजार विद्यार्थीहरू विद्यालय नगएको पाइएको उल्लेख गर्दै उनीहरूलाई पनि विद्यालय ल्याउन दोस्रो चरणको भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, अध्यागमन कार्यालय तथा कारगार कार्यालयहरूको संगठन संरचना तथा दरबन्दी पनि स्वीकृत गरेको छ ।  

प्रशासनको कामलाई सहज ढंगले सम्पन्न गर्न प्रशासन, अध्यागमन र कारगार कार्यालयमा संगठन संरचना र दरबन्दी मिलानसम्बन्धी प्रस्ताव स्वीकृत गरिएको पनि सरकारका प्रवक्ता बाँस्कोटाले बताए ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै