• २०८१ बैशाख २२ शनिबार

यो सरकार बेठिक नियतका साथ बनेको छ, एक महिनामै ढल्छ- मेटमणि चौधरी

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका छन् ।  शनिबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै यो सरकार बेठीक नियतका साथ बनेकाले यसको आयु लामो नरहेको दाबी गरेका हुन् ।

उनले भने- ‘यो सरकार बेठीक नियतको साथ बनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ । बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौति छ । निकै सानो अवसर छ । यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन ।'

नेता चौधरीले सरकार निरन्तर रुपमा अगाडि बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनलाई घात गरेको आरोप लगाए । उनले प्रधानमन्त्री प्रचण्डको कदम गलत रहेको जिकिर गर्दै प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिर सिद्ध भएको बताए । 

उनले भने, ‘अहिले उहाँको कारणले मुलुकमा अस्थिरता मच्चिने काम भइरहेको छ । उहाँकै कारणले, उहाँ बाहेक अरु कोही होईन । म हिजोका दिनमा केपी कमरेडप्रति एकखाल्को आलोचन गर्थैं तर केपी ओलीभन्दा पनि धेरै अस्थिर, गलत मान्छे । आफ्नो कुर्सी फेरिराख्छन्, सत्ता सहकर्मीहरुलाई फेरिराख्छन्, तर आफ्नो कुर्सी जोगाइराख्ने उहाँको प्रवृत्ति छ । उहाँले नेतृत्व गरेको समीकरण अब कुनै हालतमा टिक्दैन । उहाँको नियतमै खोट छ । यो मनोविज्ञानले निर्माण भएको समीकरण भत्काउनै पर्छ ।'

उनले अबको पाँच/सात दिनभित्र मुलुकको राजनीतिक कोर्ष नयाँ ढंगले अगाडि बढ्ने दाबी समेत गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले दुई जना काण्डवाला मानिसहरुलाई लिएर अहिलेको सरकार बनाएको टिप्पणी समेत गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले गृहमन्त्री भएर आफूमाथि आइलागेको मुद्दाहरु राफसाफ गर्ने मनशाय राखेको उनको दाबी छ । नेता चौधरीले गृहमन्त्री लामिछानेको उक्त चाहना पूरा हुन नदिने बताए । ‘उहाँको आफ्नो मनशाय छ– गृहमन्त्री भएर आफूमाथि आइपरेका मुद्दाहरु राफसाफ गर्ने चाहना छ । तर, त्यो राफसाफ गर्ने चाहना पुरा हुनेवाला छैन । प्रचण्डभन्दा पनि अस्थिर मान्छे घण्टी पार्टी, रवि लामिछाने,’– उनले भने ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै