• २०८१ बैशाख १५ शनिबार

आइपिएलका रोचक किर्तिमान

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्कार आगामी शुक्रबारदेखि शुरु हुदै छ । टी-२० क्रिकेटमा विश्वकप चर्चित लिग मानिने आइपिएलमा १० फ्रेन्चाइजीले प्रतिष्पर्धा गर्दै छन् ।

आइपिएलको अहिलेसम्म १६ सिजनसम्म सकिदा कैयौं किर्तिमान बनेका छन् । यस रिपोर्टमा आइपिएलमा बनेका केहि यस्तै किर्तिमानको बारेमा चर्चा गर्दैछौं ।

आइपिएलमा अहिलेसम्म सबैभन्दा बढी रन बनाउने किर्तिमान विराट कोहलीको नाममा रहेको छ । कोहलीले अहिलेसम्म २३७ खेल खेल्दै ७ हजार २६३ रन बनाएका छन् । यस सूचिको दोस्रो स्थानमा शिखर धवन रहेका छन् । धवनले २१७ खेलमा ६६१७ रन बनाएका छन् । त्यस्तै डेविड वार्नरले १७६ खेलमा ६ हजार ३९७ रन बनाएका छन् भने रोहित शर्माले २४३ खेलमा ६ हजार २११ रन बनाएका छन् ।

त्यस्तैगरी आइपिएलको इतिहासमा अहिलेसम्म एक खेलमा सर्बाधिक रन बनाउने किर्तिमान वेस्टइन्डिजका क्रिस गेलको नाममा रहेको छ । गेलले २०१३ मा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दै पुने वारियरविरुद्ध १७५ रन बनाएका थिए । 

त्यसैगरी आइपीएलको इतिहासमा अहिलेसम्म ८० शतक प्रहार भएका छन् । जसमा भारतका विराट कोहलीले अहिलेसम्म सबैभन्दा बढी ७ शतक प्रहार गरेका छन् भने क्रिस गेलले छ शतक प्रहार गरेका छन् ।

त्यस्तै आइपिएलको एक सिजनमा धेरै रन बनाउने किर्तिमान विराट कोहलीको नाममा रहेको छ । कोहलीले २०१६ को सिजनमा सर्बाधिक ९७३ रन बनाएका थिए । त्यस्तै २०२३ आइपिएलमा शुभमन गिलले ८९० रन बनाएका थिए भने २०२२ मा जोस बटलरले ८६३ रन बनाएका थिए ।

त्यसैगरी आइपिएलमा अहिलेसम्म सबैभन्दा बढी छक्का प्रहार गर्ने किर्तिमान क्रिस गेलको नाममा रहेको छ । गेलले अहिलेसम्म ३५७ छक्का प्रहार गरेका छन् । २०२१ देखि आइपिएल नखेलेका गेलपछि भारतका रोहित शर्माले २५७ छक्का प्रहार गर्दै दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै एक खेलमा सर्बाधिक छक्का प्रहार गर्ने किर्तिमान पनि क्रिस गेलको नाममा नै रहेको छ । गेलले २०१३ मा पुने वारियरविरुद्ध एकै खेलमा १७ छक्का प्रहार गरेका थिए ।

त्यसैगरी आइपिएलको इतिहासमा अहिलेसम्म सर्बाधिक विकेट लिने खेलाडी भारत युजवेन्द्र चहल हुन् । चहलले अहिलेसम्म १४५ खेलमा १८७ विकेट लिएका छन् । त्यस्तै डवाने ब्राभोले १६१ खेलमा १८३ विकेट लिएका छन् भने पियुष चावलाले १८१ खेलमा १७९ विकेट लिएका छन् । त्यस्तै अमित मिश्राले १६१ खेलमा १७३ विकेट लिएका छन् भने आर आश्विनले १९७ खेलमा १७१ विकेट लिएका छन् ।

त्यसैगरी आइपिएलको एक खेलमा उत्कृष्ट बलिङ गर्ने किर्तिमान वेस्टइण्डिजका अल्जारी जोसेपको नाममा रहेको छ । जोसेपले २०१९ मा मुम्बई इण्डियनबाट खेल्दै सनराइजर्सविरुद्ध ४ ओभरमा १२ रन दिएर ६ विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय