• २०८१ बैशाख १५ शनिबार

कथाकार परशु प्रधानको निधन

kharibot

काठमाडौँ । वरिष्ठ कथाकार परशु प्रधानको निधन भएको छ । गएराति काठमाडौं बानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा उनको निधन भएको हो । 

प्रधानको अहिले बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने उनका छोरा प्रतिक प्रधानले जानकारी दिएका छन् ।

कथाकार प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।

प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरू प्रकाशित गरेका उनका १३ कथासंग्रह प्रकाशित छन् । बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथासंग्रह हुन् ।

सीताहरू र घर कथोपन्यास पनि प्रकाशित छन् । उनका एक दर्जन जति बालकथा पनि प्रकाशित छन्। नानीको कथा, सुनको छाती, रीताको स्कूल लगायतका बालकथासंग्रह प्रकाशित छन् । प्रारम्भमा परशु प्रधान र भूमिकै भूमिकामा परशु प्रधान भन्ने भूमिका संग्रह पनि प्रकाशित छन् ।

त्यसैगरी भोजपुरः एक अध्ययन, सजिलो नागरिक शास्त्र, सगरमाथा अञ्चलको भूगोल, सामान्य ज्ञान डाइजेस्ट ९२९ संस्करणसम्म प्रकाशित छन् । प्रधानलाई नेपाल साहित्य संस्थान पुरस्कारसहित दुई दर्जन पुरस्कारबाट सम्मान गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै