• २०८१ बैशाख १८ मंगलबार

विनय कसजू स्मृतिग्रन्थ लोकार्पण

kharibot

काठमाडौँ । वरिष्ठ पत्रकार, सञ्चारकर्मी, साहित्यसर्जक र जनताको जान्न पाउने हकको अभियानकर्ता विनयकुमार कसजूले आफ्नो जीवनकालमा नेपाली समाजलाई अझ उन्नत र जागृत तुल्याउन के कसरी योगदान पुर्याउनु भएको थियो भन्ने सम्बन्धमा एक कार्यक्रमको आयोजना गरी सम्झना गरियो । 

यस क्रममा विनय कसजूका जीवनका विभिन्न कालखण्डमा उनका सम्र्पकमा आएका, सहकार्य गरेका, परिवारका सदस्य र विभिन्न किसिमले चिन्नेजान्नेहरुले सम्झनामा लेखेका १३६ लेख रचनाहरुको संकलन विनय कसजू स्मृतिग्रन्थ लोकार्पण पनि गरियो । लोकार्पण कार्यक्रममा प्रा.डा. जीबेन्द्र देव गिरीले ७८८ पृष्ठमा सामेल ग्रन्थका सामग्रीहरुको समीक्षा गरेका थिए । 

स्मृतिग्रन्थमा डा. हरि प्रसाद भण्डारीको रचना विनय कसजूको व्यक्तित्व तथा कृक्तित्व र ११० व्यक्तिका संस्मरण, १८ व्यक्तिका लेख समालोचना, ८ व्यक्तिका कविता र विनय कसजूका लघुकथा, बालकथा, कथा र किताब नमुनाको रुपमा सामेल गरिएको छ । 

विनय कसजू स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा डा. भवेश्वर पंगेनीले जन्मथलो पाल्पा प्रति विनय कसजूको लगाव र योगदान, हेमबहादुर बिष्टले पत्रकारको रुपमा विनय कसजूको योगदान, कृष्णहरि बास्कोटाले सूचनाको हक र जनताको जान्न पाउने अधिकारका क्षेत्रमा योगदान, प्रा.डा. दयाराम श्रेष्ठले उहाँको साहित्य सिर्जना र प्रमोद प्रधानले बालसाहित्य क्षेत्रमा विनय कसजूको योगदान सम्बन्धमा संक्षिप्त परिचर्चा गरेका थिए । 

यस त्रममा जलेश्वरी श्रेष्ठले विनय कसजूको महिला प्रतिको दृष्टिकोण प्रस्तुत गरेकी थिइन् । 

स्मृतिग्रन्थ लोकार्पणको यसै कार्यक्रममा विनय कसजूकी अर्धाङ्गनी गंगादेवी कसजूको साहित्य सिर्जना चिया बेच्ने केटोको पनि लोकार्पण गरियो । चिया बेच्ने केटोमा गंगादेवी कसजूका आठ कथा समावेश छन् । यस कथा संग्रहको संपादन डा. हरिप्रसाद भण्डारीले गरेका हुन् ।  विनय कसजू स्मृतिग्रन्थको संपादन प्रा.डा. कपिल लामिछाने, प्रा.डा. ध्रुवकुमार घिमिरे, डा. पुष्करराज भट्ट, डा. हरिप्रसाद भण्डारी र मन्जु ज्ञवालीले गरेका थिए । 

कार्यक्रमको प्रमुख अतिथी प्रा.डा. चुडामणी बन्धु थिए भने, लोकार्पण कार्यक्रमको सभापतित्व गंगादेवी कसजूले गरेकी थिइन् । स्मृतिग्रन्थ प्रकाशन पछिको पृष्ठभुमी माथि प्रकाश पार्दै कार्यक्रममा उपस्थीत सबैको स्वागत प्रा.डा. कपिल लामिछानले गरेका थिए । लोकार्पण कार्यक्रमको संचालन प्रा.डा. ध्रुवकुमार घिमिरेले गरेका थिए । 

लोकार्पण कार्यक्रममा विनय कसजूप्रति श्रद्घा, स्नेह, आत्मियता र सहकार्यका सामेल साथै परिवारका सदस्य गरि सय भन्दा बढिको सहभागिता रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै