• २०८१ बैशाख २२ शनिबार

कैलालीमा आगलागी, पशुचौपायामा क्षति

kharibot

टीकापुर।  कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै भजनी, लम्कीचुहा र बर्दबगोरियामा आगलागीबाट लाखौँको धनमाल तथा पशुचौपायामा क्षति भएको जनाइएको छ । 

लम्कीचुहा नगरपालिका–८ र १० मा गोठमा आगलागी हुँदा तीनवटा गोठ जलेर नष्ट भएका छन् भने केही पशुचौपाया पनि मरेका छन् । गप्काका उदय साउदका दुईवटा बाख्रा जलेर मरेका छन् भने दुईवटा गोरु घाइते भएका छन् । यस्तै पुरन भण्डारीको गोठ जलेर नष्ट भएको छ । 

चुहाका भूमिनन्द देवकोटाको एउटा भैँसी जलेर मरेको छ भने गोठमा राखेको अन्नपात जलेर नष्ट भएको छ । स्थानीयले गहुँको नल जलाउनका लागि खेतमा लगाएको आगो गोठमा सल्किएपछि ठूलो क्षति भएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।

यसैगरी भजनी नगरपालिकाको वडा नं ३ पिपलचोकका दीपक सापकोटाको खाली घर पनि जलेको छ । गहुँको नलमा लगाएको आगो घरमा सल्किएर एक घर जलेको स्थानीय खेमराज पाण्डेले जानकारी दिए ।

भजनी नगरपालिकाको चर्रामा पनि गहुँको नलमा आगलागी भएको इलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ भजनी नगपालिका–३ मन्द्रीमा आगलागी हुँदा राष्ट्रिय माविको १६ बिघा जमिनमा लगाएको लिप्टिस बारी जलेको छ । आगो टीकापुर र घोडाघोडी नगरपालिकाको दमकलको सहायताले निभाइएको छ ।

त्यस्तै बर्दगोरिया गाउँपालिका–२ मा एक कच्ची गोठमा आगलागी भएको छ । आगलागीबाट गहुँ, धान, लुगा कपडामा जल्नुका साथै एक भैँसी मरेको छ भने एक राँगा र एक बाख्रा जलेर घाइते छन् । खेतमा लगाएको आगो एक्कासी फैलिएर आगलागी भएको बताइएको छ ।

आगलागी नियन्त्रणका लागि सबै पालिकासँग दमकल नभएकाले ठूलो क्षति बेहोर्नुपरिरहेका पालिकाले जनाएका छन् । भजनी नगरपालिकासँग आफ्नै दमकल छैन । भजनीमा आगलागीका घटना भएमा टीकापुर र घोडाघोडी नगरपालिकाबाट दमकलको सहायता लिने गरिएको विपद् सम्पर्क व्यक्ति विष्णु न्यौपानेले जानकारी दिए ।

“यी पालिकाबाट दमकल आउँदासम्म धेरै क्षति भइसक्छ”, उनले भने, “आगलागी नियन्त्रणका लागि केही सामग्री छन् । ती सामग्री पनि जनशक्ति अभावमा प्रयोगमा ल्याउन सकिएको छैन ।”

कैलालीको भजनी, जोशीपुर र जानकी गाउँपालिकासँग दमकल छैन । यी पालिकामा आगलागी भएमा टीकापुर नगरपालिकाको दमकल प्रयोगमा ल्याउने गरिएको छ । कहिलेकाहीँ एकैपटक धेरै ठाउँमा आगलागी भएमा समस्या हुने गरेको छ । 

“जहाँ पहिला आगलागी भयो त्यहाँ दमकल पठाइन्छ”, टीकापुरका विपद् शाखा प्रमुख निर्मला चौधरीले भने, “कहिलेकाहीँ दमकल अन्य पालिकामा गएका बेला हाम्रै पालिकामा आगलागी भइदिन्छ । यस्तो बेला भने समस्या हुन्छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै