• २०८१ जेठ २ बुधबार

आगलागी-डढेलो पिडितको राहत र उद्धार चुस्त बनाउन माओवादी केन्द्रको माग

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गर्मी र सुख्खापन बढेसँगै देशमा विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति भएकोप्रति ध्यानाकर्षण भएको जनाउदै राहत र उद्धार गर्न सरकारसँग माग गरेको छ ।

माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले सोमबार एक विज्ञप्ति जारी गर्दै विपद्का घडीमा स्थानीय तह नै अग्रपङ्क्तिमा हुनुपर्ने भएकोले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारी लाई चुस्त बनाउन पालिकाहरुलाई अपिल गरेका छन् । 

माओवादी केन्द्रको विज्ञप्ति:

गर्मी र सुख्खापन बढेसँगै देशमा विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति भएको छ, हजारौं नागरिक पीडित हुन पुगेका छन् । त्यसैगरी, देशैभरि वायु प्रदूषण उच्च मात्रामा बढ्दा र तापक्रममा उच्च बृद्धिका कारण विशेषगरी तराईका जिल्लाहरूमा तातो हावाको लहर एवं लु चल्दा जीवनयापनमा भारी कठिनाइ उत्पन्न भइरहेको छ ।

हाम्रो पार्टी, विभिन्न विपद्का घटनाका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै पीडित एवं प्रभावित सबैप्रति गहिरो सहानुभूति प्रकट गर्दछ । हाम्रो पार्टी एवं भातृ संगठनका नेता–कार्यकर्ता एवं स्वयंसेवकहरू उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन हार्दिक आह्वान गर्दछौं । साथै, यस चुनौतीपूर्ण घडीमा पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षा जस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण पनि गराउँछौँ ।

विपद्का घडीमा स्थानीय तह नै अग्रपङ्क्तिमा हुनुपर्ने भएकोले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारी लाई चुस्त बनाउन पालिकाहरुलाई अपिल गर्दछौं । यी र यस्ता विपद्का जोखिमहरु कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकाबासीलाई जनचेतनाका कार्यक्रममार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार राख्न पनि आह्वान गर्दछौं ।

त्यसैगरी, विपद्जन्य अवस्थामा गर्नु पर्ने उद्धार तथा राहतका लागि पालिकाहरुलाई सहयोग गर्न, सबल बनाउन तथा आवश्यक सामग्रीहरूको व्यवस्था गर्न प्रदेश तथा सङ्घीय सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने चाहन्छौं ।

यसका साथै, विपद् जोखिमहरूबारे जानकारी लिन, त्यस्ता विपद्का जोखिमहरू न्यूनीकरण गर्न तथा तिनको व्यवस्थापनका उपायहरुबारे सचेत रही आवश्यक परेका बेला अग्रसर हुन सबै नागरिकमा अपिल गर्दछौं ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै