• २०८१ जेठ ४ शुक्रबार

चलचित्रमा साहित्य कमजोर छ- उपेन्द्र सुब्बा

kharibot

काठमाडौँ । कवि तथा साहित्यकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत लेखनमा सहकार्य गर्नुभयो । निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार हुने हरेक चलचित्रमा उनी लेखनमा सहकार्यका साथै छायाङ्कनमा समेत सहभागी हुने गरेका छन् । लेखक भएका कारण उनले शब्दमा लेखिएको कथालाई दृश्यमा उतार्ने अभ्यासलाई नजिकबाट नियाएका छन् । फलत : लिम्बू समुदायको कथा भन्ने निर्णयपछि उनले आफैँ म निर्देशन गरे । 

“मलाई जारीको कथा पर्दामा उतार्न मन थियो । किनकि म त्यसलाई मायाको भावमा व्यक्त गर्न चाहन्थे । सोही कारण म निर्देशक बनेँ । पहिलो चलचित्रको कमजोरीलाई दोस्रोमा सुधार्ने प्रयास गरेको छु”, निर्देशक सुब्बाले भने । 

उनी निर्देशित ‘जारी’ले रु १७ करोडको व्यापार घरेलु बजारमा गरेको छ । त्यसपछि उनी स्थापित निर्देशक बने । दोस्रो चलचित्रका रुपमा उनले ‘मनसरा’ तयार गरेका छन् । यसपटक उनले आत्मनिर्भर महिलाको सङ्घर्ष र जीवनीलाई प्रस्तुत गरेका छन् । “मनसरा एक प्रकारको धान हो । यसलाई अन्य जातका बीउसँग मिसाएर रोप्नुपर्छ । यद्यपि फल्दा स्वतन्त्र भएर छुट्टै फल्छ । यसलाई नै आधार बनाएर चलचित्रको कथा तयार गरेँ”, निर्देशक सुब्बाले भने । 

कोरोना महामारीका कारण भएको बन्दाबन्दीमा उनी आफू बस्ने आसपास घुमघाम गरे । नखिपोट भन्दा माथि पुगेपछि त्यहाँ देखिएको मिश्रित बस्तीले उनलाई कथाको आइडिया दियो । ‘जारी’ अगाडि नै चलचित्रको सुरुआत गर्ने तयारी गरे तापनि विविध कारणले एक वर्ष ढिला भएको उनले जानकारी दिए । 

“साहित्यको आँखाले चलचित्र कमजोर नै छ । समाजको कथा व्यक्त गर्ने शैली र पात्र निर्माणसँगै विम्ब निकै कम प्रयोग हुन्छ । यद्यपि थुप्रै साहित्यकारले चलचित्र हेर्ने गरेका छन् । तसर्थ साहित्यमा चलचित्रको प्रभाव छ, तर चलचित्रमा साहित्य कमजोर छ”, निर्देशक सुब्बाले भने । चलचित्रमा मिरुना मगर, दयाहाङ राई, प्रवीन खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्र वैशाखको तेस्रो साता प्रदर्शन हुँदैछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै