• २०८१ असार ५ बुधबार

काठमाडौँ महानगर भित्र रङ्गीचङ्गी बत्तीको प्रयोग हटाउन अध्ययन कार्यदलको शिफारिस

kharibot

काठमाडौँ । सुन्दरता र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लवजस्ता व्यवसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘सहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ले सुझाव दिएको छ ।

सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले आज काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोललाई प्रतिवेदन बुझाउँदै शिफारिसका विषयमा जानकारी गराएको हो । गएको वैशाख २५ गते बसेको अनुगमन समितिको बैठकमा सजावटलागि राखिएका बत्तीले जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनमा नकारात्मक असर पारेको विषय उठान भएपछि अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो । यसका आधारमा मानन्धरको संयोजकत्वमा गठित समितिको सदस्यमा उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका प्रमुख नवराज थापा, महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठ, सार्वजनिक निर्माण विभागका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेल थिए । यसैगरी वातावरण इञ्जिनियर निशा कोइराला सदस्य सचिव थिए । समितिले अध्ययनका क्रममा नेपाल आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. इन्दूप्रसाद ढुङ्गेल, त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका जीवशास्त्री सहप्राध्यापक डा. हरिप्रसाद शर्मा र हिमालय नेचरका चराचुरुङ्गीविज्ञ सन्देश गुरुङ्सहितको टोलीमा सहभागी गराएको थियो । 

प्रतिवेदन बुझिसकेपछि उपप्रमुख डंगोलले भनिन्, ‘सहरमा झिलीमिली बत्ती राख्ने विषयमा निर्णय गर्न र थप वैज्ञानिक अध्ययन गर्न आधार तयार भएको छ । प्रतिवेदनको थप अध्ययन गरेर निर्णय गर्छौँ ।’

अध्ययन समितिलाई सजावटका लागि रुख, विरुवासहितका संरचनामा बेरिएका वत्तीको गुणस्तर र प्रकृति, सवारी आवागमनमा यस्ता बत्तीले पार्ने असर, मानव दृष्टि (आँखा) मा असर, चराचुरुङ्गी र पर्यावरणमा पर्ने असर, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यताको अध्ययन विश्लेषण गर्ने कार्य क्षेत्र दिइएको थियो । 

अध्ययनबाट सवारी आवागमन, जनस्वास्थ्य र पर्यावरणमा असर देखिने भए सजावटको विकल्प, बत्ती हानीकारक छन् भने वत्तीको प्रकृति र गुणस्तर परिवर्तन गरेर राख्न मिल्छ कि हटाउनुपर्छ, सुझाव दिन समितिले जिम्मेवारी पाएको थियो । यसबमोजिम समितिले जीवशास्त्री, प्राणीशास्त्री, चराचुरुङ्गी विज्ञलाई सहभागी गराएर अध्ययन गरेको हो । 

अध्ययनले ७ बुँदामा सुझाव दिएको छ । त्यसको पहिलो बुँदामा रुख, खम्बा, निजी घर, पुराना संरचना, पार्क, पार्टी प्यालेस, रेस्टुरेन्ट, सांस्कृतिक सम्पदा, ढुङ्गेधाराजस्ता सार्वजनिक स्थलहरुमा राखिएका स्ट्रिप बत्ती, रोप बत्ती, रंगीन सजावटी बत्ती, एलईडी स्ट्रिङ बत्तीलाई जात्रा, चाडपर्व र विशेष अवसरबाहेक हटाउनुपर्छ सुझाव दिइएको छ । 

सडक बत्तीको लागि ब्ल्क्क्ष् ऋठड।घठठ ऋऋत् मापदण्डअनुसार घछण्ण्प् देखि द्धछण्ण्प् सम्मका एलइडी लाइट राख्नु पर्ने, बाहिरी बत्ती प्रयोग गर्दा यही मापदण्डअनुसारका वैकल्पिक बत्ती जडान गर्नु पर्ने, प्रकाशबाट हुने प्रदुषण, उत्तरदायी प्रकाशको प्रयोगका लागि निश्चित र स्थायी रुपमा रहने प्रणाली स्थापनाका लागि सरोकारवाला, इलेक्ट्रिक व्यवसायी, वातावरण क्षेत्रसँग सहकार्य गरेर प्रदुषण घटाउन सकिने सुझावमा उल्लेख छ । 

वातावरणीय चक्र र जैविक विविधता बचाउन पार्क, सहरी वन, पुरातात्विक सम्पदा क्षेत्र र प्राकृतिक सम्पदाहरुमा कम प्रकाशको प्रयोग गर्ने परिस्थिति निर्माण गर्नुपर्छ ।

यस्ता समग्र अवस्थालाई नियमन नियन्त्रण गर्न तथा प्रकाशका कारण सिर्जना भएको असर घटाउन महानगरपालिकाले प्रकाशसँग सम्बन्धित ऐन तर्जुमा गर्नु पर्ने प्रतिवेदनमा दिइएको मुख्य सुझाव हो ।   डा. ढुङ्गेलकाअनुसार सडकमा असमान मात्राको प्रकाशका कारण सरीरको जैविक चक्रमा नकारात्मक असर हुन्छ । जुनसुकै प्रकाश प्रयोग गरे पनि युभी (अल्ट्राभ्वाइलेट) कम सूचकांकको हुनुपर्छ । 

काठमाडौँ उपत्यकाभित्र मौसमअनुसारका जीव, कीरा फट््याङ्ग्रा तथा कीट पाइन्छन् । ७७ प्रजातिका पुतली पाइएको अध्ययनले देखाएको छ । यस्तै विभिन्न प्रजातिका भ्यागुत्ताहरु, १०२ प्रजातिका चराहरुको घर भेटिएको छ । रैथानेसँगै बसाइँ सरेर आउने अन्य चराहरुको संख्या र प्रजाति पनि धेरै छ । सहरमा राखिएको अत्याधिक प्रकाशका कारण यस्ता चराहरुलाई बास बस्न कठिन भएको, आहार खोज्न कठिन भएको, यी र यस्ता समस्याका कारण जीवन छोटो र प्रजनन क्षमता कमजोर भएको अध्ययनहरुमा उल्लेख पाइन्छ । 

सहरलाई मानिसजस्तै अन्य प्राणीहरुका लागि बस्न योग्य बनाउनुपर्छ । यसका लागि प्रकाश व्यवस्थापनमा काम गर्नु पर्ने अहिलेको आवश्यकता हो ।  

कुनै एउटा अभ्यास पछ्याउँदा  पछ्याउँदै सहरका विभिन्न ठाउँमा झिलीमिली हुने बत्ती राख्ने गरिएको छ । सडक किनारा, सम्पदा क्षेत्र, पार्क, सार्वजनिक स्थलसहित होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, क्लव, क्याफेजस्ता व्यवसायिक स्थानमा पनि यस्ता बत्ती छन् । यस्ता बत्ती कहाँ राख्नु पर्ने हो, कति समयका लागि बाल्नु पर्ने हो, बत्ती राख्दाका सकारात्मक र नकारात्मक प्रभाव के हुन्, मापन गरिएको छैन । सुक्ष्म असर हेरिएको छैन । रातको समयमा सवारी चलाउँदा यस्ता झिलीमिली बत्ती र भवनमा राखिएका एलइडी डिस्प्लेबाट आएको प्रकाशले सवारी चलाउन कठिन भएको गुनासा आउन थालेका छन् । 

यो अवस्थाले उत्पन्न हुने जोखिम परिस्थितिलाई अध्ययनले संकेत गरेको छ । यसलाई सहरी चरित्र र आचरण तथा प्रकृति, वातावरणलगायत क्षेत्रगत कोणबाट वैज्ञानिक अध्ययन गर्न वा त्यो अवस्थामा तत्काल पुग्न नसक्ने भए यसअघि भएका अध्ययनहरु संग्रह गरेर विश्लेषण गर्नु पर्ने प्रतिवेदनले सुझाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै