• २०८३ बैशाख २६ शनिबार

तिनकुने घटनाको उच्चस्तरिय न्यायिक आयोग गठन हुनुपर्छ- राप्रपा नेपाल

तिनकुने घटनाको उच्चस्तरिय न्यायिक आयोग गठन हुनुपर्छ- राप्रपा नेपाल

काठमाडौँ । राप्रपा नेपालले तिनकुने घटनाको छानबिन गर्न उच्चस्तरिय न्यायिक आयोग गठनको माग गरेको छ । 

सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनालाई अराजक र हिंसात्मक बनाउन सरकार स्वयंले नियोजित षडयन्त्र गरेको देखिएको भन्दै घटनाको छानबिन गर्न उच्चस्तरिय न्यायिक आयोग गठनको माग गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । 

बैठकले चैत १५ गते परिस्थितिलाई नियन्त्रणभन्दा बाहिर जान नदिन तथा भिडलाई संयमित हुन सार्वजनिक आह्वान गरिरहेका डा.धवल शमसेर राणा, रवीन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्र राजभण्डारी, आशिष तामाङ लगायतका झुठा मुद्दा लगार्इ थुनामा राखिएका सबैलाई तत्काल रिहा गर्न समेत सरकारसँग माग गरेको छ ।

त्यस्तै राप्रपा नेपालले हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको पुन:स्थापना गर्न तथा विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन डा.जगमान गुरुङको संयोजकत्वमा गठन भएको 'संयुक्त जनआन्दोलन' समितिलाई राप्रपा नेपालले पूर्ण रूपले सहयोग र समर्थन गर्ने निर्णय गरको महामन्त्री बर्तौलाले जानकारी दिएका छन् । 

त्यस्तै राप्रपा नेपालले अहिले योजनावद्ध र संगठित रुपले राजा, हिन्दुराष्ट्रको मान्यता र राजसंस्था सहितको प्रजातन्त्रको बिचारलाई बदनाम गर्ने, निषेध गर्ने तथा उक्त बिचारका पक्षधरहरुलाई हतोत्साहित तुल्याउने षडयन्त्र भन्दै आफ्नो बिचारको प्रतिरक्षाको निम्ति सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी र प्रजातन्त्रवादी एकतावद्ध हुन अपिल समेत गरेको छ ।

राप्रपा नेपालले डा. जगमान गुरुङको संयोजकत्वमा गठित 'संयुक्त जनआन्दोलन' समितिले यही चैत २७ गते बुधवार आयोजना गर्ने 'प्रतिवद्धता सभा' लाई सफल बनाउन राप्रपा नेपालले सक्रिय सहयोग गर्ने र उक्त सभामा सहभागी हुन सबै राष्ट्रवादी साथीहरूलाई राप्रपा नेपाल आह्वान समेत गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै