• २०८३ जेठ १९ मंगलबार

हसिनाविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई बंगलादेशको आग्रह

हसिनाविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई बंगलादेशको आग्रह

काठमाडौँ । बंगलादेश प्रहरीले पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई आग्रह गरेको छ । हसिना बाहेक अन्य ११ जनाविरुद्ध पनि यस्तै माग गरिएको छ । शेख हसिना गत वर्ष अगस्टमा भएको विद्रोहदेखि नै भारतमा बस्दै आएकी छिन् ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले शेख हसिना, उनका पूर्व मन्त्रीहरू, सल्लाहकारहरू र अधिकारीहरू विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । उनीहरूमाथि मानवता विरुद्धको अपराध र नरसंहारको आरोप लगाइएको थियो ।

इन्टरपोलको रेड नोटिसले कुनै व्यक्तिलाई पत्ता लगाउन र सुपुर्दगी वा कानुनी कारबाही अघि अस्थायी रूपमा पक्राउ गर्न मद्दत गर्छ ।

अप्रिल ८ मा सामाजिक सञ्जालमा बोल्दै शेख हसिनाले पहिले बंगलादेशलाई विकासको मोडेलको रूपमा हेरिन्थ्यो, तर अहिले यो आतंकवादी देश बनेको बताएकी थिइन्।

शेख हसिना गत वर्ष अगस्ट ५ मा देश छोडेर भारत आएकी थिइन् । देशभरका विद्यार्थीहरूले उनको विरुद्धमा प्रदर्शन गरेका थिए । जुन ५ मा, बंगलादेशको उच्च अदालतले जागिरमा ३० प्रतिशत कोटा प्रणाली लागू गरेको थियो; ढाकाका विश्वविद्यालयका विद्यार्थीहरूले यस आरक्षणको विरोध गरिरहेका थिए । यो आरक्षण स्वतन्त्रता सेनानीका परिवारहरूलाई दिइँदै थियो । यद्यपि, यो आरक्षण पछि हसिना सरकारले खारेज गर्यो । तर यसपछि विद्यार्थीहरूले उनको राजीनामा माग्दै विरोध प्रदर्शन गर्न गरेका थिए ।

बंगलादेशमा भएको विद्रोहपछि गठन भएको युनुस सरकारले हसिना विरुद्ध २२५ भन्दा बढी मुद्दा दर्ता गरेको छ, जसमा हत्या, अपहरणदेखि देशद्रोहसम्मका मुद्दाहरू समावेश छन्। यसैबीच, बंगलादेशी सरकारले भारतमा रहँदा हसिनाले दिएको अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध बिगारिरहेको चेतावनी दिएको छ ।

जुलाईमा भएको हत्याका कारण बंगलादेश सरकारले शेख हसिनाको राहदानी पनि रद्द गरेको छ । यसैबीच, बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले उनी विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । न्यायाधिकरणले हसिनालाई फेब्रुअरी १२ सम्ममा उपस्थित हुन निर्देशन दिएको छ ।

बंगलादेशले पनि हसिनालाई देश निकाला गर्न भारतलाई अपील गरेको छ । यद्यपि, भारत सरकारले उनको भिसाको म्याद बढाएको छ र उनलाई बंगलादेश फिर्ता नपठाउने स्पष्ट पारेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै