काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दिएको समिति संयोजकको जिम्मेवारीलाई तीन वडाध्यक्षले अस्वीकार गरेका छन् ।
आइतबार बालेनलाई निवेदन दिँदै चार वडा अध्यक्षहरूले विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्थामा उपयुक्त नदेखिएको उल्लेख गरेका छन् ।
पद अस्वीकार गर्नेमा सुशासन समितिको संयोजक तोकिएका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सूचना प्रविधि समितिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समिति संयोजक तोकिएका वडाध्यक्ष २४ का अध्यक्ष विनोद राज भण्डारी रहेका छन् ।
यसअघि बालेनले गत विहिबार सूचना प्रविधि समितिका संयोजक वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धर, सुशासन समितिका संयोजक वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र विधायन समितिका संयोजक वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनलाई हटाएका थिए ।









