• २०८३ बैशाख १९ शनिबार

विश्वप्रकाशले गराए सगरमाथा क्षेत्रमा तुरुन्त गर्नुपर्ने ७ काम बारे प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

विश्वप्रकाशले गराए सगरमाथा क्षेत्रमा तुरुन्त गर्नुपर्ने ७ काम बारे प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा क्षेत्रको आफ्नो भ्रमणपछि त्यस क्षेत्रमा तुरुन्त गर्नुपर्ने ७ कामको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानकर्षण गराएका छन् । 

प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै महामन्त्री शर्माले सगरमाथा आरोहण गर्न आउने पर्यटक र उनीहरुका लागि सहयोगीको काम गरिरहेकाका यी सात समस्या तत्काल समाधान गर्न पनि आग्रह गरेका छन् । 

महामन्त्री शर्माले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भरिया बीमा, व्यावसायिक आरोहीलाई पेन्सन, सगरमाथा बेस क्याम्पमा नेपाल टेलिकमको सञ्चार टावर, सगरमाथामा सरकारको प्रविधि, सगरमाथामा सरकारको उपस्थिति, ट्रेकिङ रुट नमासी सडकको निर्माण र ठुक्लामा झोलुंगे पुलको निर्माण लगायतका काम तत्काल गर्न आग्रह गरेका छन् । 

महामन्त्री शर्माले प्रधानमन्त्री ओलीलाई लेखेको पत्र : 

सम्माननिय प्रधानमन्त्री, केपि शर्मा ओलिज्यु

`बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्´ रामकृष्ण ढकालको सुमधुर स्वरमा रहेको यो गीतले हामी हरेक नेपालीको भाव बोल्छ । 

तर रातदिन जो हिमालमै बस्छन् नि तिनको भावले चैं `सन्चले बाँच्न पाइयोस्´ भन्ने आग्रह बोलिरहेको हुन्छ । सगरमाथाको काखबाट राजधानी फर्किएपछि मैले सोचें, बजेट बन्ने बेलामा मलाई आफ्नै क्षेत्रको चिन्ता, अर्को साथिलाई आफ्नै ठाउँको पिर तब कतै हाम्रो सान र स्वाभिमानका प्रतिक हिमालहरुको पिडामा मल्हम कम त पुग्ने होइन ? त्यसैले यो दोस्रो पत्र म यहाँलाई लेख्दैछु । बेसक्याम्पबाट पठाएको पहिलो पत्र `जलवायु परिवर्तन र न्याय: नेपालले गर्नुपर्छ नेतृत्व´ भन्ने बिषयमा थियो ।  यो पत्र `हिमाली जीवन, हिमाली पर्यटन र सरकारसँगको अपेक्षा´ सँग सम्बन्धित छ । 

लुक्लादेखी बेसक्याम्पसम्म र बेसक्याम्पदेखि क्याम्प 3 को नजिकसम्म पुग्दैगर्दा मैले त्यहाँ जे समस्या, अभाव र चुनौती देखें तिनलाई यहाँ समक्ष सारमा पेश गरेको छु । यहाँको अविलम्ब निर्देशनले उल्लेखित कतिपय बिषय जेठ १५ मा आउने बजेटमा समेटिने र अन्य बिषय सम्बन्धित निकायबाट क्रमशः सम्पादन हुने विश्वास मैले लिएको छु । 

१) #सम्मानित_भरिया_बिमा

बैशाख २० मा लुक्ला उत्रीएर ६ रात बाटोमा बसेर सगरमाथा बेसक्याम्प पुग्दासम्म मैले सयबढी भरिया साथीहरू बाटोमा भेटें । कोहि युवा हुनुन्थ्यो, कोहि वृद्ध । ती मध्ये २३ जनासँग संवाद गरें ।  प्रायलाई एउटै प्रश्न गरें, तपाईंको `बिमा´ गरिएको छ ? जवाफ सबैको एउटै थियो- छैन ।  यत्तिको गह्रुङ्गो भारी बोकेर हिमालको उकालो ओह्रालो हिंड्दा लडेर कुनै चोट लागे कसले उपचार गर्छ ? एक भरिया साथी रमेश कुलुङ राइको जवाफ मार्मिक थियो- उपचार कसैले गर्दैन, त्यसैले आफैं जानेर नलड्ने गरि हिँड्नुपर्छ नि !

प्रधानमन्त्रीज्यु- म सम्झन्छु सुर्यबहादुर तामाङलाई, कोरोनाको बेला हातमा कात्रो चेपेर सडक पेटीमा जो मृत भेटिएका थिए ।  उनी राजधानीको कीर्तिपुरमा मरेका थिए, त्यसैले छापामा उनको फोटो आउन संभव भयो ।  तर के हामीले कहिल्यै देखेका छौं- हिमालबाट झरेर घाइते भएकाको तस्वीर ? बजेट बनाउन शुरु गर्दैगर्दा अर्थमन्त्रीजिले आफ्नो कार्यकक्षमा दैनिक सयौं मानिस भेट्नु भयो ।  ती भित्र न कलंकीका भरिया पुगे न कालापथ्थरका ।  म प्रधानमन्त्रीज्युलाई नम्र निवेदन गर्न चाहन्छु- यो बजेटले स्थानीय तह मार्फत दर्ता, पहिचान र विवरण लिनेे गरि `भरिया बिमा´ को अवधारणा ल्याओस् ।  ताकी कामको क्रममा कोहिपनी घाइते भएभने तिनले राज्यको स्नेहको हात साथ पाउन सकुन् । 

२) #व्यवसायीक_आरोहीलाई_पेन्सन 

प्रधानमन्त्रीज्यु हरेक बर्ष संसारका सयौं मानिस नेपालका हिमाल आरोहण गरेर फर्किन्दा तिनको मोबाइलमा हिमालसँगै कैद हुने अर्को तस्वीर हुन्छ-;व्यवसायिक आरोहीको ।  तिनले घरको भित्तामा सजाउने एक आत्मीय तस्वीर बन्दछ तिनै, सहयोगी आरोहीको ।  

तर ३०/ ४० बर्षसम्म काम गरिसकेर `अवकाश´ लिएर हाम्रा यी व्यवसायिक आरोही घर जाँदैगर्दा रित्तो हात घर जान्छन् ।  जलवायु परिवर्तनको असरबाट हिमाल जोगाउन सकियो, तर सरकारको दृस्टी पुर्‍याएर ती व्यवसायिक आरोहीलाई प्रोत्साहित गर्न या जोगाउन सकिएन भने अबको दशकमा आरोहण पर्यटन गम्भीर संकटमा पुग्नेछ ।  सरकारले हाम्रा ८ उच्च हिमाल सगरमाथा, ल्होत्से, मकालु, कंचनजंगा, चोयु, धवलागिरी, मनास्लु र अन्नपूर्ण लगायत अन्य हिमालमा नियमित रुपमा कार्य गरिरहेका व्यवसायिक आरोहीहरुको विवरण संकलन स्थानीय तह मार्फत गराएर, एक निस्चित उमेरपछि ससम्मान विदाइ गरेर हातमा पेन्सन पट्टा थमाउने व्यवस्था सरकारले गर्नैपर्छ । 

३) #बेसक्याम्पमा_सरकारको_खोइ_टावर´ ?

प्रविधिको यो जमानामा प्रकृतिको सुन्दर काख बेसक्याम्पमा सरकारको एक थान संचार टावर छैन । बेसक्याम्प र क्याम्प टु´मा चलाइएका `नेटवर्क´ न सरकारका हुन् न सरकारको पहुँचमा छन् । जीवनमा एकपटक सगरमाथा बेसक्याम्प पुग्ने सपना बोकेर त्यहाँ पुगेका कुनैपनी बिदेशी पर्यटकले आफ्नो खुशी तुरुन्तै आफ्नो परिवारसँग बाँड्न सक्दैनन् ।  

मैले व्यक्तिगत माग बुद्ध शान्ति र बाहुन्डाँगिका लागि गरौंला, गरेको छु पनि ।  रास्ट्रको कुरा आउँदा अबको बजेटमा उच्च हिमाली क्षेत्र, जहाँ संसारभरका पर्यटक थुप्रीन्छन् त्यहाँ अनिवार्यसँग सरकारको संचार टावर जोडियोस् ।  सगरमाथा बेसक्याम्प पुग्नुअघि बाटोमा पर्ने गोरकक्षेपमा एनटिसिको एउटा राम्रो टावर छ, सेल्फी खिंच्न मिल्ने नेटवर्क नफाल्ने ।  सम्माननिय प्रधानमन्त्रीज्यु मार्फत म संचारमन्त्रीजिलाई आग्रह गर्न चाहन्छु - अविलम्ब कालापथ्थरमा टावर खडा गरेर बेसक्याम्प हुँदै आवश्यक भूगोलसम्म त्यसले `कभर´ गर्ने प्रबन्ध मिलाइयोस् । 

४) #हाम्रो_सगरमाथामा_हाम्रो_प्रविधि_किनपुगेन ?

सगरमाथाको पिकमा जो पुग्छन् तिनको मोबाइलमा `अटो´ नियन्त्रण चीनिया समयको भइसक्छ ।  उताको टावरले अतिक्रमण गर्‍यो भनेर वक्तव्य दिएर हुन्न, आफ्नो टावरको स्थापना र त्यसको क्षमताको दायरा बलियो बनाउनु हाम्रो सरकारको कर्तव्य हो ।  यो संवेदनशील प्रश्नमा सरकारको गम्भीर ध्यान अविलम्ब पुगोस् । 

५)#बेसक्याम्पमा_४०_बढी_देशका_मान्छे_भेटिए_सरकार_भेटिएन !

सम्माननिय प्रधानमन्त्रीज्यु, म दोष कसैलाई लगाउन चाहन्न ।  बरु अघिपछिका सबै सरकारको कमजोरीका रूपमा लिन चाहन्छु ।  सगरमाथाको बेसक्याम्पमा ४० बढी देशका मानिस थिए होलान् तर त्यो बीचमा कहिँ केही परे सम्हाल्नका लागि सरकार थिएन । आरोहण सिजनको निश्चित समय करिब अढाई महिनासम्म बेसक्याम्प गुल्जार हुने गर्दछ ।  त्यति छोटो अवधीको समयमा सरकारले आफ्नो सुरक्षा युनिट बिना बर्दीमै त्यहाँ तैनाथ गर्नसक्दछ, गर्नुपर्दछ । सन् 2013 र अघिपछि फाट्टफुट्ट अप्रीय घटना त्यहाँ भएका छन्, सगरमाथाको बेसक्याम्पमा भविस्यमा कुनैपनी अनपेक्षित घटना हुन नदिन संवेदनशीलता जरुरी छ । 

६) #सडक_बनाऔं_ट्रेकिङ_रुट_नमासी 

संसारको सबैभन्दा अग्लो शिखरको फेदिसम्म पुग्ने चाहना विश्वव्यापी रुपमा हामीले आगामी दिनमा अझै बढाउनु छ । लगातार ५/६ दिनसम्म  ट्रेकिङ रुटबाट हिँडेर पुगिने मार्ग यथावत राख्दै सल्लेरिबाट लुक्लातर्फ आएको मार्गलाई बिस्तारीत गर्दै, बेसक्याम्पसम्म `रास्ट्रीय गौरवको सडक´ निर्माण गर्ने परिकल्पना र परियोजनालाई सार्थक रुप दिएर सगरमाथाको फेदीसम्म पुग्ने संसारभरका मानिसको चाहनालाई नेपाल सरकारले सम्बोधन गर्न जरुरी छ । यसमा म प्रधानमन्त्रीज्युको बिशेष ध्यानाकर्षण गर्न चाहन्छु । 

७) #थुक्लामा_यसैबर्ष_झोलुंगे_पुल 

गत मंसिरमा लोबुचे हिमाल आरोहण गर्न जाँदा दिङ्बोचे तिरबाट थुक्ला जोड्ने पुल जुन अवस्थामा अलपत्र देखें, अहिले पनि जस्ताको त्यस्तै देखें ।  सम्झिएँ आफ्नो क्षेत्रको एक अलपत्र झोलुंगे पुल र अरु माग गरिएका पुलहरु । स्वयं प्रधानमन्त्रीज्यु समेतको जिल्ला सदरमुकाम जोड्ने बिर्तामोड-भद्रपुरको बाटो । राधास्वामी- स्याङ्ल्याङटारको बाटो ।  त्यहाँको जनप्रतिनिधि भएको नाताले त्यसतर्फ अनिवार्य ध्यानाकर्षण गराउँदछु, गराएको छु । तर जब मेरो रास्ट्रीय जिम्मेवारीको प्रश्न आउँछ म नम्र निवेदन गर्दछु, त्यहाँका नागरिकको तर्फबाट आग्रह  गर्न चाहन्छु, थुक्लामा झोलुङ्गे पुल तत्कालै  निर्माणका लागि बिशेष दृष्टि पुगोस् । सानो बजेटका बीच पालिकाले निर्माण थालनिको प्रयास गरेको छ । भरथेग गर्नु संघिय सरकारको कर्तव्य हो । ४० भन्दा बढी देशका नागरिकले त्यो दुर्दशाको फोटो खिचेका छन् , अबको सिजनमा त्यहाँ पुग्नेले सेल्फी खिंच्न पाउन् , नयाँ झोलुंगे पुलसँग । 

प्रधानमन्त्रीज्यु,

सगरमाथा हाम्रो मान, सम्मान र स्वाभिमानको प्रतिक हो । जलवायु परिवर्तनको चपेटाबाट यसलाई र अन्य सबै हिमाललाई जोगाउने संकल्पसाथ शुरु `सगरमाथा संवाद´ बिस्तारित गरेर नेपालले यो एजेन्डामा विश्वस्तरिय नेतृत्व लिनुपर्छ / लिनसक्नुपर्छ ।  यसबारे हिजोको पत्रमा बिस्तारित लेखेकै छु । सगरमाथा केन्द्रित यो दोस्रो र अन्तिम पत्र टुंग्याउँदै गर्दा केवल यत्ति आग्रह गर्न चाहन्छु- आह्वान एउटा कुरा हो, `एक्सन´ अर्कै कुरा । हामीले गर्नसक्ने / गर्नुपर्ने र गर्नैपर्ने `एक्सन´ गम्भीरतापुर्वक गरौं ।  

सम्माननिय प्रधानमन्त्रीज्यु,

अविलम्ब निर्देशन होस् --- बजेट निर्माण गर्दा तराई मधेस, पहाड सबै संतुलन मिलाउनुनै पर्छ तर त्यो मिलाइरहँदा हिमालले न्याय पाइन भन्ने अवस्था नआओस् । यो बजेटमा हिमाल देख्न पाइयोस् । जय हिमाल / जय नेपाल !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै