• २०८२ कार्तिक १९ बुधबार

कविता: जयकृष्णे

kharibot

फोहोरको डुङ्गुर खोतल्दै 
गन्तव्यहीन यात्रामा निस्किएको छ जयकृष्णे 
के खान्छ ? 
के लाउँछ ? 
कहाँ बस्छ ? 
बेखबर छ देश । 

शासकहरु उन्मत्त मात्तिएका छन 
जयकृष्णेहरुको टाउका गनी 
विदेशी अनुदान थापेर 
सुरा सुन्दरी नचाउँदै 
जलपान गरी 
दिउँसै बर्बराई रहेका हुन्छन 
जयकृष्णे भोकको गीत गाइरहेको हुन्छ । 

आमा बा गुमाएर 
अनाथ 
घरबार गुमाएर 
आश्रयहीन 
पातली र धनेको 
धर्म पुत्र भई बसेको 
पाठशाला जाने हुट्हुटीले 
उज्यालोको खोजि गर्दै 
सडकमा निस्किएको हो जयकृष्णे ।

सडकमा दर्जनौ जयकृष्णेहरु छन 
कोही हात थाप्छन 
कोही पकेट मार्छन 
मेरो देशको संविधान उत्कृष्ट हो रे 
बाल अधिकारको कुरा उठाएर 
अधिकारकर्मी ठूलै भाषण गर्छन 
भाषण सुनेर जयकृष्णे फिस्स हाँस्छ । 

पातली र धनेको 
एउटै सहारा 
तैले किन घात गरिस जयकृष्णे ? 
धर्म बा आमाले तँलाई राम्रै गर्नु पर्ने 
फर्की जयकृष्णे 
पातली र धने 
तेरै बाटो हेरी बसेका छन । 

पातली र धने 
उदास छन
जयकृष्णे............
तँ हराए पछि  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै