काठमाडौँ । भिडिओ मार्केटिङ र क्रिएटर कोल्याबरेसनका लागि विश्वकै अग्रणी प्लेटफर्म भिलले नेपालमा आफ्नो पाइलट प्रोजेक्ट सुरु गर्ने भएको छ । काठमाडौँमा आयोजित क्रिएटर मेलाको एक प्यानल छलफलका क्रममा भिलका संस्थापक तथा सिईओ दीलिप ढकालले यस्तो घोषणा गरेका हुन् ।
भिलको यो प्रवेशले नेपाली डिजिटल क्रिएटरहरूलाई विश्वव्यापी मापदण्डसँग जोड्ने र नेपालको डिजिटल अर्थतन्त्रमा एउटा नयाँ कोसेढुङ्गो साबित हुने अपेक्षा गरिएको छ । अमेरिकी बजारमा स्थापित भइसकेको यो प्लेटफर्मले अब नेपाली व्यवसायीहरूलाई पनि 'अथेन्टिक' भिडिओ सामग्रीमार्फत आफ्नो बजार विस्तार गर्न सहयोग पुर्याउनेछ ।
भिलका सिईओ दीलिप ढकालले आधुनिक क्रिएटर इकोनोमी केवल कन्टेन्ट निर्माणमा मात्र सीमित नभएर यो जीविकोपार्जन, विश्वास र मापनयोग्य प्रणालीसँग जोडिएको कुरामा जोड दिए । उनले भने- 'नेपालमा अथाह सिर्जनशील प्रतिभाहरू छन् । हाम्रो पाइलट प्रोजेक्टले क्रिएटरहरूलाई उनीहरूको सीपबाट अर्थोपार्जन गर्न र ब्रान्डहरूलाई प्रमाणित क्रिएटरहरूसँग काम गर्न मद्दत गर्नेछ ।'

अमेरिकी दूतावासको पहलमा आयोजित यो मेलाले नेपाली क्रिएटरहरूलाई नयाँ विचार अन्वेषण गर्न र सीप विकास गर्न एउटा साझा मञ्च प्रदान गरेको छ । यो परियोजनाको मुख्य उद्देश्य नेपालको बढ्दो क्रिएटर इकोनोमीलाई सहयोग पुर्याउनु र ब्रान्ड तथा क्रिएटरहरूबिचको सम्बन्धलाई थप प्रभावकारी बनाउनु हो ।
यसले नेपाली क्रिएटरहरूलाई व्यावसायिक अवसरहरूसँग जोड्ने र उनीहरूको वृद्धिका लागि आवश्यक प्रणाली विकास गर्ने लक्ष्य राखेको छ ।छलफलका क्रममा क्रिएटर इकोनोमीको विश्वव्यापी र नेपाली बजारको बारेमा केही रोचक तथ्याङ्कहरू प्रस्तुत गरिएका थिए ।

हाल विश्वभर क्रिएटर इकोनोमीको मूल्य २५० अर्ब डलर भन्दा बढी छ । नेपालमा यो क्षेत्र करिब ३ देखि ४ करोड अमेरिकी डलर बराबरको रहेको अनुमान गरिएको छ । तथ्याङ्क अनुसार नेपाली क्रिएटरहरूले वार्षिक रूपमा २ करोड ५० लाख डलरभन्दा बढी कमाइरहेका छन्, जसले नेपालमा यस क्षेत्रको उच्च सम्भावनाको संकेत गर्दछ ।
सान फ्रान्सिस्कोकी यूजीसी क्रिएटर भ्यारोनिका कामाचोले छलफलमा भाग लिँदै क्रिएटरहरूले सामना गरिरहेका समस्याहरूको बारेमा चर्चा गरेकी थिइन् । उनका अनुसार धेरैजसो क्रिएटरहरूले स्पष्ट कार्यक्षेत्रको अभाव, भुक्तानीमा ढिलाइ र मानक प्रक्रियाको कमी जस्ता समस्या भोगिरहेका छन् ।
कार्यक्रममा क्रिएटरहरूलाई दिगो आम्दानीका स्रोतहरू निर्माण गर्नका लागि आवश्यक सीपहरू विकास गर्न सुझाव दिइएको थियो । जसमा दर्शकलाई आकर्षित गर्ने कला स्टोरी टेलिङ, व्यावसायिक सहकार्यका लागि प्रभावकारी सञ्चार, ब्रान्डहरूसँग काम गर्दा अपनाउनुपर्ने व्यावसायीक मापदण्ड आदि रहेका छन् ।









