पोखरा । मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।
सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबले सिक्किमको ठण्डरबोट युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
मनाङको जितमा ९० मिनेटपछिको अतिरिक्त समयमा आशिष श्रेष्ठले गोल गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यसअघि ९० मिनेटको खेलमा दुवै क्लबबाट गोल हुन नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयको अन्तिम समयमा मनाङले गोल गरेर अग्रता लिएको थियो ।
अब मनाङले सेमिफाइनलमा आयोजक सहारा क्लबको सामना गर्ने छ ।
यसअघि आयोजक सहारा क्लब र जावलाखेल युथ क्लबले सेमिफाइनलमा पुगिसकेका छन् ।
अब चौथो क्वाटरफाइनल खेल प्लानिङ ब्वायज युनाइटेड र उज्बेकिस्तानको एभिए फुटबल क्लबबीच मंगलबार हुने तालिका रहेको छ ।









