• २०८३ जेठ १६ शनिबार

नेपाल लाइफको 'नारी सुरक्षा जीवन बीमा योजना' सार्वजनिक

नेपाल लाइफको 'नारी सुरक्षा जीवन बीमा योजना' सार्वजनिक

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा महिलामुखी विशेषता समेटिएको ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नेपालमै पहिलो पटक महिलालाई लक्षित गर्दै पृथक सुविधासहितको जीवन बीमा योजना ल्याइएको हो ।

'एकै योजना, बहु-लाभ; सबै नारीका लागि सहज पहुँच' भन्ने नारासहित सार्वजनिक गरिएको यो योजना महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षामा केन्द्रित रहेको बताइएको छ । बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कका आधारमा नगद सुविधा प्रदान गरिनु तथा मृत्यु लाभ हरेक पाँच वर्षमा २५ प्रतिशतले वृद्धि हुने यस योजनाको मुख्य विशेषता हो ।

कम्पनीका अनुसार नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा पनि समावेश गरिएको छ । गर्भावस्थाको अवधिमा सूचीकृत ११ वटा गम्भीर जटिलतामध्ये कुनै पुष्टि भएमा एकमुष्ट १ लाख रुपैयाँ उपलब्ध गराइनेछ । साथै, बीमा अवधिभित्र गर्भवती भएको प्रमाणित भएमा स्वास्थ्य सेवाका लागि एकपटक १० हजार रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) स्वरूप रहेको यस योजनामा न्यूनतम बीमाङ्क २ लाख ५० हजार रुपैयाँ तोकिएको छ भने अधिकतम बीमाङ्क आम्दानीको आधारमा निर्धारण हुनेछ। प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्षसम्म तोकिएको कम्पनीले जनाएको छ ।

यस योजनासँगै दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता सुविधा र बीमाशुल्क छुट सुविधा जस्ता ऐच्छिक पूरक करार पनि लिन सकिने व्यवस्था गरिएको छ। कम्पनीले यो योजना महिलाको आत्मनिर्भरता, सम्मानपूर्ण जीवन र दीर्घकालीन आर्थिक सुनिश्चितता मजबुत बनाउन लक्षित गरिएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै